
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको उक्त कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कात्तिक २७ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखेको हो । शनिबार सार्वजनिक सूचना जारी गर्दै कार्यालयले कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने जनाएको छ ।
बागमती गाउँपालिका, मकवानपुरको सिफारिसमा नेसनल कन्स्ट्रक्सनलाई कालोसूचीमा राखिएको छ । काभ्रेपलाञ्चोकको रोशी-६ ठेगाना रहेको उक्त कम्पनीका मुख्य व्यक्ति नवीनकुमार लामा हुन् । त्यस्तै, सडक डिभिजन जनकपुरको सिफारिसमा बाम्ती भण्डार र नरसिंह जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । महोत्तरीको जलेश्वर–७ ठेगाना रहेको यस संयुक्त उपक्रममा बाम्ती भण्डार प्रालि र नरसिंह कन्स्ट्रक्सन साझेदार छन् । यसका मुख्य व्यक्ति दीपेन्द्र झा हुन् ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराको सिफारिसमा नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिलाई पनि कालोसूचीमा राखिएको छ । यस कम्पनीका मुख्य व्यक्तिहरू दीपकबहादुर सिंह र दिलराज जोशी हुन् । कार्यालयका अनुसार सूचना प्रकाशित भएको मितिदेखि नै कालोसूचीमा राख्ने निर्णय कार्यान्वयनमा आएको छ ।



















