
विराटनगर । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि मोरङ प्रहरीले अभिषेक गिरीको घरमा सूचना टाँस गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले गत कात्तिक १९ गते हुलाकमार्फत पत्र पठाएर गिरीलाई बयानका लागि उपस्थित हुन भनेको थियो । तर पत्र बुझ्ने व्यक्ति नभेटिएपछि र पत्रमा तोकिएको सात दिनको अवधिमा पनि गिरी सम्पर्कमा नआएपछि प्रहरीले शुक्रबार उनको घरको भित्तामा सूचना टाँसेको हो ।
प्रहरीले दसीप्रमाण तथा आवश्यक कागजातसहित सात दिनभित्र उपस्थित हुन पत्रमार्फत आग्रह गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्ने सूचना पाएपछि गिरी फरार भएका हुन् । उनी गत असोजदेखि भारतमा बस्दै आएको स्रोतको दाबी छ ।
गिरीमाथि आपराधिक लाभ लिई संगठित अपराध गरेको आरोपमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
मोरङ कारागारका कैदीबन्दीलाई वितरण गर्नुपर्ने १३ लाख रुपैयाँभन्दा बढी भत्ता गायब भएको घटनामा गिरी गत असार १३ गते पक्राउ परेका थिए । उच्च अदालत विराटनगरको आदेशपछि म्याद थप हुन नसक्दा उनी असार २३ गते रिहा भएका थिए । तर, रिहा भएकै दिन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पुनः पक्राउ गरेको थियो ।
साउन २१ गते छुटेका गिरीलाई त्यसपछि मोरङ प्रहरीले फेरि नियन्त्रणमा लिएको थियो । उजुरीकर्तासँग मिलापत्र भएपछि उनी रिहा भएका थिए । त्यसयता भने उनी सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् । पक्राउ पर्ने डरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा समेत उनी सार्वजनिक रूपमा नदेखिएको स्रोतको भनाइ छ ।
अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरेर छुटेका गिरीमाथि मोरङ कारागारभित्र असुली धन्दा चलाएको र निर्माण व्यवसायीको सम्पत्ति हडपेको आरोपसमेत लाग्दै आएको छ ।



















