विश्व शान्ति र लोककल्याणको कामनासहित भीम पराजुलीको २९औँ दण्ड प्रणाम यात्रा

Share this
661shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २९, आइतबार ११:२५

विराटनगर । छठ पर्वलाई आस्था र संकल्पसँग जोड्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले यस वर्ष पनि दण्ड प्रणाम यात्रालाई निरन्तरता दिएका छन् । उनले आइतबार बिहान विराटनगर–३ स्थित ठूलोमिल चोकको राधाकृष्ण शिव पाञ्चायन मन्दिरबाट २९औँ दण्ड प्रणाम यात्रा सुरु गरेका हुन् ।

करिब पाँच किलोमिटरको दूरी शरीरलाई भुइँमा सुताएर दण्डवत् गर्दै पूरा गर्ने उनको यात्रा विराटनगर–१ स्थित परोपकार घाटमा पुगेर टुंगिनेछ । छठ पर्वको अवसरमा हरेक वर्ष गरिने यो कठिन धार्मिक अनुष्ठानलाई उनले व्यक्तिगत मनोकामनाभन्दा माथि उठेर देश र विश्वकै कल्याणसँग जोडेको बताएका छन् ।

दुई दिनसम्म पानीसमेत नपिई गरिने छठ व्रतसँगै दण्ड प्रणाम यात्रामा सहभागी हुँदै आएका पराजुलीले यसलाई आफ्नो निरन्तरको धार्मिक संकल्पका रूपमा लिएका छन् । २९ वर्षसम्म आइपुग्दा पनि यात्राप्रतिको आस्था र उत्साह उस्तै रहेको उनको भनाइ छ ।

पराजुलीले नेपाललाई वैदिक सनातन हिन्दु राष्ट्र बनाउने अभियान आफ्नो प्रमुख उद्देश्य रहेको बताए । त्यसका साथै विश्व शान्ति, लोककल्याण, राष्ट्रिय समृद्धि र देशको विकासका लागि छठी मातासँग प्रार्थना गर्दै आएको उनले उल्लेख गरे ।

व्यक्तिगत स्वार्थ वा मनोकामना पूरा गर्न नभई नेपाल र नेपालीको हित तथा विश्वमा बढ्दै गएको द्वन्द्व, वैमनस्यता र अशान्तिको अन्त्यका लागि दण्ड प्रणाम यात्रालाई निरन्तरता दिएको पराजुली बताउँछन् । छठी माताप्रतिको अटुट आस्था र देशहितको संकल्पसहित सुरु भएको पराजुलीको यात्रा धार्मिक आस्था र व्यक्तिगत प्रतिबद्धताको निरन्तरताका रूपमा देखिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.