
धनकुटा । चारैतिर बालुवा र ढुङ्गा । माटो मलिलो छैन, सिँचाइको सुविधा पनि सहज छैन । सामान्यतया यस्तो जमिन खेतीका लागि अनुपयुक्त मानिन्छ । तर धनकुटा नगरपालिका–९, छिम्सुवाका किशोर भण्डारीले तमोर नदीको यही बगरलाई व्यावसायिक कृषि उद्यमको आधार बनाएका छन् ।
कुनै समय बाँझो र उपयोगविहीन देखिने बगरमा अहिले ड्रागन फ्रुटका बोट लहरै फैलिएका छन् । कतै फल लाग्न थालेका छन् भने कतै नयाँ बालीका लागि संरचना तयार पारिएका छन् । ड्रागन फ्रुटबाट सुरु भएको उनको खेती यात्रा अहिले केरा, एप्पल बयर, म्याकाडेमिया, आँप, एभोकाडो र तरकारीसम्म फैलिएको छ ।
तीन वर्षअघि करिब पाँच रोपनी बगरमा तीन सय ड्रागन फ्रुटका बिरुवा रोपेर उनले खेती सुरु गरेका थिए । सुक्खा र बलौटे जमिनमा पनि उत्पादन लिन सकिने सम्भावना देखेपछि यो बाली रोजेको भण्डारी बताउँछन् । नयाँ बाली भएकाले सुरुमा उत्पादन र बजार दुवैको चुनौती थियो । तर उत्पादन हुन थालेपछि बजारमा राम्रो माग देखियो । सुरुवाती समयमा ड्रागन फ्रुट प्रतिकिलो पाँच सय रुपैयाँसम्म बिक्री भएको थियो । अहिले सिजन र बजारको अवस्थाअनुसार प्रतिकिलो दुई सय ५० देखि तीन सय रुपैयाँसम्म मूल्य पाइरहेको भण्डारी बताउँछन् ।
उत्पादन खरिद गर्न ग्राहक र व्यापारी बगानमै आउन थालेपछि बजार खोज्दै हिँड्नुपर्ने झन्झट पनि कम भएको छ। यही अनुभवले उनलाई खेती विस्तार गर्ने हौसला दियो । अहिले ड्रागन फ्रुट खेती करिब नौ रोपनीमा फैलिएको छ । ड्रागन फ्रुटबाट आम्दानी हुन थालेपछि भण्डारीले एउटै बालीमा निर्भर नहुने योजना बनाए । वर्षभरि उत्पादन र आम्दानीको सम्भावना कायम राख्न जमिनको प्रकृति र हावापानीअनुसार विभिन्न फलफूल तथा तरकारी खेती विस्तार गरेको उनी बताउँछन् ।
हाल उनले करिब पाँच रोपनीमा एप्पल बयरका पाँच सय बोट लगाएका छन् । त्यस्तै, करिब १५ रोपनीमा स्थानीय मालभोग जातको केरा खेती गरेका छन् । यस वर्ष जी–नाइन जातको केरा पनि परीक्षणका रूपमा लगाएका छन् । म्याकाडेमिया, आँप, एभोकाडो र टमाटर खेतीसमेत विस्तार गरेका छन् । एप्पल बयरका बोट हुर्कँदै जाँदा उत्पादन बढ्ने उनको अपेक्षा छ । नयाँ लगाइएका फलफूलका बोटले आगामी दुईदेखि चार वर्षभित्र राम्रो उत्पादन दिने विश्वास उनले गरेका छन्। म्याकाडेमिया र एभोकाडोलाई पनि भविष्यको आम्दानीको आधार बनाउने उनको योजना छ ।
तरकारी खेतीमा टमाटरलाई प्राथमिकता दिएका उनले यसअघि करेला खेतीको अनुभव पनि लिएका थिए । तर करेला उत्पादनमा बढी मेहनत गर्नुपर्ने र बजारको समस्या हुने भएकाले अपेक्षित आम्दानी लिन नसकेको उनको अनुभव छ । धनकुटाका सुक्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पछिल्लो समय ड्रागन फ्रुट खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको छ ।
परम्परागत बालीबाट अपेक्षित आम्दानी लिन नसकेका किसानले ड्रागन फ्रुटलाई वैकल्पिक खेतीका रूपमा लिन थालेका छन् । जमिनको प्रकृति र हावापानीअनुसार उपयुक्त प्रविधि अपनाउन सके कम पानी हुने क्षेत्रमा पनि व्यावसायिक खेती गर्न सकिने कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई आवश्यकताअनुसार विशेषज्ञ सेवा र प्राविधिक परामर्श उपलब्ध गराउँदै आएको छ । विगतमा अनुदानका कार्यक्रम सञ्चालन गरेको केन्द्रले चालु आर्थिक वर्षमा पनि अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए ।
तमोरको बगरमा खेती विस्तार गर्दा भण्डारीका लागि सिँचाइ व्यवस्थापन मुख्य चुनौती थियो । बलौटे जमिनमा पानी नटिक्ने भएकाले नियमित सिँचाइको व्यवस्था आवश्यक थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को आर्थिक सहयोग र पर्डेप नेपाल धनकुटाको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी निर्माण भएपछि खेती गर्न सहज भएको भण्डारी बताउँछन् । यही सहयोग तथा सहजीकरणमा केरा खेती पनि विस्तार गरिएको हो ।
खेती विस्तारसँगै कामदारको आवश्यकता बढेको छ । उनको कृषि उद्यमबाट केही स्थानीयले रोजगारीसमेत पाएका छन् । आफ्नै ठाउँमा कृषि व्यवसाय गरेर रोजगारी सिर्जना गर्न सकिने भण्डारीको अनुभव छ । भण्डारीका अनुसार अहिले कृषि व्यवसायबाट वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको छ । विभिन्न बालीले पूर्ण उत्पादन दिन थालेपछि आम्दानी थप बढ्ने उनको अपेक्षा छ । आगामी दुईदेखि चार वर्षभित्र वार्षिक दुईदेखि चार करोड रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्य उनले राखेका छन् ।
त्यसका लागि उनी अहिले नै विभिन्न जातका फलफूल तथा तरकारी खेती विस्तार गर्दै बजारको सम्भावना खोजिरहेका छन् । बालुवा र ढुङ्गाले भरिएको तमोरको बगरलाई उत्पादनशील बनाउने उनको प्रयासले जमिनको प्रकृति बुझेर उपयुक्त बाली र प्रविधि अपनाउन सके खेतीका नयाँ सम्भावना पहिल्याउन सकिने देखाएको छ ।

























