
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. अमितसिंह कार्कीलाई मनोनीत गरेको छ । समूहको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले डा. कार्कीलाई अध्यक्षमा मनोनीत गरेका हुन् ।
पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ को उपधारा १ (च) बमोजिम उनलाई अध्यक्षमा मनोनीत गरिएको जनाइएको छ । कोइरालाले डा. कार्कीलाई नेपाली कांग्रेसका स्थापित मूल्य-मान्यता आत्मसात् गर्दै आगामी ६ महिनाभित्र प्रजातन्त्रवादी चिकित्सक संघको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी दिएका छन् ।
देउवा समूहले यसअघि पनि सात भ्रातृसंस्थामा समानान्तर समिति गठन गरिसकेको छ । कोइरालाले नेपाल तरुण दलको अध्यक्षमा दिल लामा, नेपाल विद्यार्थी संघको अध्यक्षमा सिर्जना मल्ल, नेपाल आदिवासी जनजाति संघको अध्यक्षमा अमिर लामा मोक्तान, नेपाल सांस्कृतिक संघको अध्यक्षमा अर्जुन गिरी, लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा विकास थापा, नेपाल दलित संघको अध्यक्षमा यमुना विश्वकर्मा, नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधान र नेपाल मुस्लिम संघको अध्यक्षमा मिनहाज खानलाई मनोनीत गरेका थिए ।

























