नेपथ्यको यात्रा गाउँ र मझौला सहरतिर

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ३०, सोमबार १४:४८

काठमाडौं । सिक्किम र नेपालको पूर्वी भेगको यात्रा सकेर फर्किएको नेपथ्य ब्यान्डले फेरि देशभित्रै सांगीतिक यात्राको थालनी गर्ने भएको छ । यसपटक ब्यान्डको यात्रा ठूला सहरभन्दा ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुनेछ । नेपथ्य चितवनको सौराहा, स्याङ्जाको पुतलीबजार, म्याग्दीको बेनी र तनहुँको बेलचौतारामा प्रस्तुत हुन लागेको हो ।

ब्यान्डको पहिलो कन्सर्ट मङ्सिर ३ गते सौराहामा हुनेछ । त्यसका लागि पर्यटकीय आकर्षणको केन्द्र सौराहास्थित सिसुवार मैदान (सभागृहअगाडि) छनोट गरिएको छ । कन्सर्टका लागि सहुलियत दरका टिकट बिक्री भइसकेका छन् भने अन्य टिकट पनि थोरै मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।

दोस्रो कन्सर्ट मङ्सिर ५ गते शनिबार स्याङ्जाको पुतलीबजारस्थित मालेबगर खेलमैदानमा हुनेछ । त्यसपछि ब्यान्ड धौलागिरि हिमालको काखमा रहेको म्याग्दीको बेनी पुग्नेछ। बेनीस्थित खुलामञ्चमा मङ्सिर ९ गते नेपथ्यले प्रस्तुति दिनेछ ।

चौथो कन्सर्ट मङ्सिर १२ गते शनिबार तनहुँको बेलचौतारामा हुनेछ । शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको मैदानमा कन्सर्ट आयोजना हुनेछ। सबै कन्सर्टका लागि निर्धारित दिन अपराह्न ४ बजे प्रवेशद्वार खुला गरिनेछ ।

देशभित्र र बाहिरका ठूला सहरमा भव्य प्रस्तुति दिँदै आएको नेपथ्यले साना सहर र बस्तीका दर्शकको चाहनालाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ । यसपटकको यात्राले त्यसलाई थप पुष्टि गर्नेछ । चार स्थानमध्ये म्याग्दीको बेनीबाहेक अन्य तीन ठाउँमा नेपथ्य पहिलो पटक प्रस्तुत हुन लागेको हो । कन्सर्टलाई लिएर ती क्षेत्रका बासिन्दाले सामाजिक सञ्जालमा चर्चा गर्न थालिसकेका छन् ।

विभिन्न माध्यमबाट सन्देश पठाइरहने दर्शकमाझ प्रस्तुत हुन आफू आतुर रहेको नेपथ्यका मुख्य गायक तथा अगुवा अमृत गुरुङ बताउँछन् । ‘मैले गाउँघर डुलेरै नेपाल चिनेको हुँ । यस्ता बस्तीहरूबाटै हाम्रा गीतहरू सङ्कलन गरिएका हुन्,’ उनी भन्छन्, ‘त्यसमाथि यस्ता बस्तीमा प्रस्तुत हुँदा दर्शकबाट मैले अन्यत्रभन्दा बढी आत्मीयता अनुभव गर्दै आएको छु ।’

नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठले विश्वका सुविधासम्पन्न सहरदेखि साना बस्तीसम्म उस्तै स्तरको प्रस्तुति दिनु चुनौतीपूर्ण भए पनि त्यसलाई आफूहरूले गम्भीरतापूर्वक लिएको बताए । ‘कलाकारबाहेक प्राविधिकदेखि व्यवस्थापनसम्मको हाम्रो ठूलो टोलीले त्यो स्तर कायम राख्नेछ,’ उनले भने ।

यस यात्रामा आठ ट्रक र चार यात्रुवाहक गाडीमार्फत झन्डै सय जनाको टोली सहभागी हुनेछ । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन् । नेपाल यात्रापछि नेपथ्य अस्ट्रेलिया जानेछ । डिसेम्बरमा ब्यान्ड एडिलेड, सिड्नी र पर्थमा प्रस्तुत हुने कार्यतालिका सार्वजनिक भइसकेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.