
इलाम । आफ्नै गाउँठाउँको परिवेश, बालमनोविज्ञान र प्रकृतिसँग जोडिएका स्मृतिलाई कथामा उन्दै तयार पारिएको छोटो चलचित्र ‘समर : अ मेमोरी इन द लस्ट वाटर’को छायाङ्कन पूरा भएको छ।
थुम फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको छायाङ्कन झापाको कमल गाउँपालिका–५ स्थित साधुहोली सिमसार क्षेत्रमा गरिएको हो। निर्माण टोलीले कात्तिक ८ गते अन्तिम दृश्य खिचेसँगै सात दिनमा छायाङ्कन सकेको जनाएको छ।
चेतन आङथुपोको लेखन तथा निर्देशन रहेको चलचित्रले बालमनोविज्ञान, मित्रताको विछोड र प्रकृतिसँग गाँसिएका स्मृतिको रहस्यपूर्ण यात्रालाई पर्दामा उतार्ने प्रयास गरेको छ। करिब साढे पाँच लाख रुपैयाँ लागतमा निर्माण भइरहेको चलचित्रमा ११ वर्षीय ममसन घतानी मुख्य भूमिकामा छन्।
चलचित्रमा रंगकर्मी प्रविन मगर, लहना राई, कालचन्द्र थापा, रिदम निरौला, साहेत रसाइली र ससिहाङ लिम्बुको पनि अभिनय छ। झनक खपाङ्गी निर्माता रहेको चलचित्रमा प्रविन मगरले कास्टिङ तथा सहनिर्देशनको जिम्मेवारी सम्हालेका छन्। छायाङ्कन दिनेश हाङ्गगम लिम्बुले गरेका हुन्।
छायाङ्कन पूरा भएपछि निर्माण टोली सम्पादनको तयारीमा जुटेको छ। सम्पादनलगायतका काम सकेर मंसिरको तेस्रो सातासम्म चलचित्र तयार पार्ने लक्ष्य रहेको निर्देशक आङथुपोले बताए।
आफ्नै ठाउँमा बसेर थोरै लगानीमा पनि राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने सोचले ‘समर’ निर्माण गरेको आङथुपोको भनाइ छ। ‘आफ्नै गाउँठाउँमा रहेर कम बजेटमा कसरी राम्रो फिल्म बनाउन सकिन्छ भन्ने प्रश्नले मलाई सधैँ घच्घच्याइरहन्थ्यो। त्यसको सानो जवाफ यो फिल्ममा भेटेजस्तो लागेको छ। यो प्रयास नै भविष्यमा फिचर फिल्म बनाउन मेरा लागि ठूलो ऊर्जा बन्न सक्छ’, उनले भने।
आङथुपोका लागि चलचित्र निर्देशनको यो सुरुवात लामो रङ्गमञ्च यात्राको अर्को चरण हो। उनले करिब २३ वर्षअघि नेपाली रङ्गमञ्चमा अभिनय सुरु गरेका थिए। इलामको चुलाचुली गाउँपालिकामा १८ वर्षदेखि सक्रिय चुलाचुली रङ्गमञ्चका अध्यक्षसमेत रहेका उनले आधा दर्जन ब्ल्याक बक्स नाटक लेखन तथा निर्देशन गरेका छन्।
‘झोडा’ र ‘उर्फ दारासिङ’ उनका चर्चित नाटकमध्ये हुन्। नाटकबाहेक उनले म्युजिक भिडियो र वेब सिरिज निर्देशनमा पनि काम गरेका छन्। लकडाउनका बेला चुलाचुली मिडियाको ब्यानरमा बनेको वेब सिरिज ‘सेवारो बाजे’को लेखन तथा निर्देशन पनि उनैले गरेका थिए।
रङ्गमञ्चमा लामो समय बिताएका आङथुपो अहिले चलचित्रमार्फत आफ्नो सिर्जनात्मक यात्रा विस्तार गर्न खोजिरहेका छन्। ‘समर’ थुम फिल्म्सको ब्यानरमा उनको छोटो चलचित्र निर्देशनको पहिलो प्रयास हो।



















