
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तातोपानी नाका तत्काल खुलाउन चिनियाँ पक्षसँग आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका चाइना पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङसँग बुधबार परराष्ट्र मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खनालले यस्तो आग्रह गरेका हुन् ।
केही समयअघि रसुवा–भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी नाका बन्द भएको र हिउँदमा चीनसँग जोडिएका अन्य उच्च हिमाली नाकासमेत पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले काठमाडौंबाट सबैभन्दा नजिक पर्ने तातोपानी नाका खोल्न आग्रह गरे ।
‘तातोपानी नाका काठमाडौंबाट सबैभन्दा कम दूरीमा रहेको र यो नाका ऐतिहासिक मित्रतापूर्ण सम्बन्धको प्रतीकका रूपमा रहेको छ,’ मन्त्री खनालले भने, ‘यसैले दुई मुलुकबीचको सम्पर्क सञ्जाल विस्तारका लागि यो नाका तत्काल खुलाउन जरुरी छ ।’
जवाफमा अध्यक्ष याङले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर काम गर्ने बताए । भेटमा दुई देशबीचको व्यापार, पूर्वाधार, जलवायु परिवर्तन, जनस्तरको सम्बन्ध र शिक्षालगायत विषयमा पनि छलफल भएको थियो ।

























