
काठमाडौं । राजस्व चुहावट कसुरमा अदालतबाट दुई वर्ष कैद र ५३ करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला भएका एक फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बुधबार पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा श्रीवास्तवलाई वीरगन्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरिएको हो ।
उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते श्रीवास्तवलाई दुई वर्ष कैद र ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।
झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गरी कारोबार गरेको आरोपमा राजस्व अनुसन्धान विभाग, हरिहरभवनले उनीविरुद्ध मुद्दा दायर गरेको थियो ।
श्रीवास्तव सांग्रिला ट्रेड एन्ड सप्लायर्स, प्रिन्स इन्टरनेसनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेसनल र न्यू महादेव इन्टरनेसनल नामका कम्पनी सञ्चालन गर्थे ।

























