
विराटनगर । मोरङको बेलबारीमा बाँसघारीभित्र लामो समयदेखि सञ्चालित जुवाखालमा प्रहरीले बुधबार साँझ छापा हानेको छ । जुवाखालमा छापा हानेर प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीभित्र अवैध रूपमा कौडा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले छापा हानेको हो । इन्स्पेक्टर राजीव गिरीको नेतृत्वमा खटिएको टोलीले साँझ ५ः५० बजेतिर छापा हानेर जुवा खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा मोरङको कानेपोखरी गाउँपालिका–२ का ५१ वर्षीय खमानसिंह लिम्बू, ५७ वर्षीय कल्याणबहादुर थापा र ३८ वर्षीय नरेश राजवंशी तथा सुन्दरहरैँचा नगरपालिका–१ का ४९ वर्षीय रामकुमार राई रहेका छन् । जुवाखालबाट ४५ हजार ८२५ रुपैयाँ नगद, ११ वटा कौडा, जुवा खेल्न ओछ्याइएका चारवटा चट्टीपिरा, एउटा कार्पेट र कौडा खेल्न प्रयोग गरिएका काठका चारवटा फ्रेम बरामद गरिएको जानकारी मिश्रले दिए ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाँसघारीभित्र ठूलो संख्यामा मानिसहरु भेला भएर जुवा खेलिरहेको सूचना प्रहरीलाई पुगेको थियो । प्रहरी पुग्नसाथ जुवाखालमा रहेका धेरै जना फरार भएका छन् । ‘बाँसघारीभित्र खुला ठाउँमा जुवाखाल सञ्चालन भइरहेको पाइयो । प्रहरी पुग्नसाथ धेरै जना भाग्न सफल भए । चार जनालाई मात्रै नियन्त्रणमा लिन सक्यौं । यस विषयमा थप अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
स्रोतका अनुसार खुला ठाउँमा जुवाखाल सञ्चालनमा रहेका कारण जुवा खेलिरहेका धेरै जनाले प्रहरी पुग्नसाथ भाग्ने मौका पाएका हुन् । बाँसघारीभित्र लामो समयदेखि सञ्चालित जुवाखालमा जुवा खेल्नलाई टाढा–टाढाबाट मानिसहरु आउने गरेको स्थानीय बताउँछन् ।

























