मोरङको केराबारीमा श्रीमतीको मृत्यु भन्दै अन्त्येष्टिको तयारी, पोस्टमार्टम गर्दा हत्या भएको खुलासा

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १५:४५

विराटनगर । मोरङको केराबारीमा कालगतिले मृत्यु भएको भन्दै अन्त्येष्टिको तयारी गरिएकी महिलाको हत्या भएको खुलेको छ । श्रीमतीको हत्या गरेको आरोपमा घटनाको करिब २ महिनापछि श्रीमान पक्राउ परेका छन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्या गरिसकेपछि घटनालाई सामान्य मृत्यु देखाउँदै शवको अन्त्येष्टि गर्ने तयारी गरिएको पत्ता लागेको हो । करिब २ महिनाअघिको घटना शंकास्पद देखिएपछि प्रहरीले विस्तृत अनुसन्धान अघि बढाएको थियो ।

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले केराबारी गाउँपालिका–७ दाहालचोक नजिक शान्तिमार्ग टोलका उत्तमकुमार लिम्बूलाई पक्राउ गरेको हो । उनले ४८ वर्षीया श्रीमती सन्चमाया राई (लिम्बू)को हत्या गरेको अनुसन्धानबाट खुलेको छ । उनलाई मंसिर १ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर विस्तृत अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

प्रहरीका अनुसार सन्चमाया र उत्तमकुमार दुवैका यसअघिका श्रीमान–श्रीमतीको मृत्यु भइसकेको थियो । उनीहरूले दुई वर्षअघि मात्रै विवाह गरेका थिए । त्यसयता उत्तमकुमार र सन्चमाया मात्रै घरमा बस्दै आएका थिए । सन्चमायाको पहिलेको घर धनकुटाको साँगुरीगढी गाउँपालिका–७ हो ।

गत असोज ८ गते राति करिब ११ः४५ बजेतिर सन्चमाया आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । श्रीमतीको मृत्यु भएको भन्दै उत्तमकुमारले माइती पक्षलाई खबर गरेका थिए । त्यसपछि शवको अन्त्येष्टिको तयारीसमेत थालिएको थियो । दाहसंस्कार गर्नुअघिको धार्मिक संस्कारका काम पनि सुरु भइसकेका थिए ।

तर, माइती पक्षका सदस्यहरु घरमा पुग्दा घटनाको प्रकृति शंकास्पद देखियो । उनीहरूले सामान्य मृत्यु नभई हत्या भएको हुन सक्ने आशंका गर्दै प्रहरीलाई खबर गरे । मृतकका भाइ मन राईले असोज ९ गते दिउँसो इलाका प्रहरी कार्यालय केराबारीमा जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

शवलाई पोस्टमार्टम नगरी अन्त्येष्टि गर्न दबाब आए पनि प्रहरीले त्यसलाई स्वीकार गरेन । माइती पक्षले समेत घटनाको निष्पक्ष अनुसन्धान र पोस्टमार्टमको माग गरेपछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

पोस्टमार्टम रिपोर्टले सन्चमायाको मृत्यु स्वाभाविक नभई उनको हत्या भएको पुष्टि गर्‍यो । रिपोर्टमा ‘ब्लन्ट फोर्स इन्जुरी’ अर्थात् भुत्ते वस्तुले प्रहार गर्दा चोट लागेको उल्लेख रहेको एसपी कटवालले बताए । उनका अनुसार सुरुमा उत्तमकुमारले घरायसी विवादका क्रममा श्रीमतीलाई ठेलेको मात्रै बताएका थिए । तर, पोस्टमार्टम रिपोर्टले श्रीमतीलाई ठेलेर लडाएको मात्रै भन्ने उत्तमकुमारको दाबीमाथि प्रश्न उठाइदियो ।

प्रहरीका अनुसार उत्तमकुमारले मदिरा सेवनपछि श्रीमतीसँग विवाद भएको र उनलाई ठेल्दा लडेर केही बेरपछि मृत्यु भएको बताएका थिए । तर, पोस्टमार्टम रिपोर्ट र घटनास्थलबाट संकलित प्रमाणले उनको भनाइसँग मेल नखाने तथ्य देखाएपछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ ।

मृतक सन्चमायाका यसअघिका श्रीमानतर्फका छोराले उत्तमकुमारविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई मंसिर १ गते पक्राउ गरेको थियो । हालसम्मको अनुसन्धानबाट श्रीमतीको हत्यामा उत्तमकुमारकै संलग्नता देखिएको जानकारी एसपी कटवालले दिए ।

घटनालाई सामान्य मृत्यु देखाएर हतारहतार अन्त्येष्टि गर्ने तयारी गरिएको भए पनि प्रहरीले नमानेकाले एवं माइती पक्षको शंकाका कारण पोस्टमार्टम र अनुसन्धान प्रक्रिया अघि बढ्दा हत्या सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार सन्चमायाको शवको पोस्टमार्टम नगराउन विभिन्न ठाउँबाट दबाब दिइएको थियो । तर, प्रहरीले मानेन ।

माइती पक्षले पनि घटना शंकास्पद मानेपछि अन्त्येष्टि गर्न नदिइकन प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएको थियो । पोस्टमार्टम रिपोर्टबाट हत्या पुष्टि भएको एसपी कटवालले बताए । उनका अनुसार श्रीमतीको हत्या गरेर शवलाई हतार–हतार अन्त्येष्टि गर्दै घटनालाई लुकाउने प्रयास उत्तमकुमारले गरेको पत्ता लागेको छ ।

‘हतार–हतार दाहसंस्कार गरेर हत्यालाई लुकाउन खोजिएको थियो । पोस्टमार्टम नगर्न सबैतिरबाट दबाब सिर्जना गरिएको थियो । तर, घटना शंकास्पद देखिएपछि र माइती पक्षले पनि माग गरेपछि पोस्टमार्टमका लागि शवलाई पठाएर अनुसन्धान सुरु गरियो । अन्ततः सन्चमायाको हत्या पुष्टि भएको छ । घटनामा श्रीमान नै संलग्न रहेको पाइयो,’ प्रहरी स्रोतले भन्यो ।

घटनाको थप अनुसन्धान इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले गरिरहेको छ । पक्राउ परेका उत्तमकुमारमाथि प्रहरीले कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.