
विराटनगर । निर्माण क्षेत्रका विद्यमान समस्या समाधान, कानुनी तथा नीतिगत सुधार र निर्माण व्यवसायीको हकहित संरक्षणको मागसहित निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको १६औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशन शुक्रबार विराटनगरमा सुरु भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा सहभागी निर्माण व्यवसायी तथा महासंघका अगुवाहरूले निर्माण क्षेत्रमा देखिएका भुक्तानी समस्या, म्याद थप, नदीजन्य निर्माण सामग्रीको अभाव, मूल्यवृद्धि र जटिल कानुनी व्यवस्थाले व्यवसायीलाई परेको समस्याका बारेमा चर्चा गरेका छन् । उनीहरुले निर्माण क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिएका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरकुमार बुढाथोकीले संस्थाको स्थापना र विकासक्रमसँगै निर्माण व्यवसायीले अहिले भोगिरहेका समस्याका बारेमा जानकारी गराए । उनका अनुसार २०५२ साल पुस २१ गते तयारी समिति गठन गरी २०५३ साल असोज १८ गते प्रथम सम्मेलनमार्फत पूर्वका १६ जिल्ला समेटेर पूर्वाञ्चल क्षेत्रीय निर्माण व्यवसायी संघ स्थापना भएको थियो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएपछि २०७३–०७४ सालतिर संस्था पूर्वअध्यक्ष मोहनप्रसाद अधिकारीको नेतृत्वमा निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका रूपमा रूपान्तरण भएको उनले बताए ।

बुढाथोकीले कोशी प्रदेशका १४ वटै जिल्लामा प्रदेश सरकारबाट सञ्चालित ३६५ वटा सालबसाली योजनामा म्याद थप र भुक्तानीको ठूलो समस्या रहेको बताए । समस्या समाधानका लागि महासंघले प्रदेश सरकारसँग निरन्तर छलफल र पहल गरिरहेको उनको भनाइ थियो ।
नदीजन्य सामग्रीको उत्खननमा रोक, साउन–भदौमा सरकारी काम प्रभावित हुने अवस्था, भुक्तानीमा ढिलाइ र निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धिले व्यवसायी आर्थिक मारमा परेको उनले बताए । यस्ता चुनौतीका बाबजुद निर्माण व्यवसायीले आफ्नो पेसामा टिक्दै हकहितका लागि संघर्ष गरिरहेको उनको भनाइ थियो ।
साना र ठूला निर्माण व्यवसायीबीच विगतमा रहेको दूरी घटाउँदै सबैलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्न महासंघले प्रयास गरिरहेको बुढाथोकीले बताए । हालै लागू भएको एभरेज बिडिङ प्रणाली तथा एउटा कम्पनीले पाँचवटाभन्दा बढी निर्माण कार्य गर्न नपाउने व्यवस्थालाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए । निर्माण क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले यी समस्या समग्र निर्माण उद्योगकै साझा चुनौती भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण व्यवसायलाई पुस्तान्तरण हुने पेसाका रूपमा मात्र नभई उद्योगका रूपमा विकास गरी भविष्यको सम्पत्तिका रूपमा स्थापित गर्नुपर्ने बताए । समय सबैका लागि बराबर हुने भएकाले भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले नेतृत्वले प्रदेश तथा जिल्लाका व्यवसायीका समस्या र सुझाव सुन्ने अभ्यास गर्नुपर्ने बताए ।

नयाँ खरिद ऐनको दोस्रो संशोधनपछि उपलब्ध हुने २० प्रतिशत पेस्की रकमको सही सदुपयोग गर्नुपर्नेमा जोड दिँदै पाण्डेले उक्त रकम व्यक्तिगत वा अन्य प्रयोजनमा खर्च गर्न नहुने बताए । पेस्की रकमको उचित प्रयोग गर्न सके बैंक ऋणमाथिको निर्भरता घटाउनुका साथै निर्माण कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन सकिने उनको भनाइ थियो ।
उनले आगामी डिसेम्बर ९ र १० गते काठमाडौंमा आयोजना हुने पूर्वाधार लगानी सम्मेलनमार्फत ठूला आयोजनामा निजी तथा विदेशी लगानी भित्राउने तयारी भइरहेको जानकारी दिए । त्यसका लागि करिब ६० वटा कानुन संशोधनको मस्यौदा तयार भइरहेको उल्लेख गर्दै उनले प्रस्तावित संशोधनले वन, जग्गा प्राप्ति तथा नदीजन्य र खानीजन्य निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधानमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
महासंघ कोशी प्रदेशका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष जनसेवक भण्डारीले निर्माण व्यवसायीले सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न निर्माणसम्बन्धी कानुनलाई समयसापेक्ष, स्पष्ट र व्यावहारिक बनाउनुपर्ने बताए । जटिल तथा एकआपसमा बाझिने कानुनी व्यवस्थाले निर्माण कार्यमा अवरोध सिर्जना गरिरहेको भन्दै उनले काम गर्न सहज हुने कानुनी व्यवस्था आवश्यक रहेको बताए ।
निर्माण कार्यसँग सम्बन्धित रुजुका कारण व्यवसायीले अनावश्यक तनाव र समस्या भोग्नु परेको उल्लेख गर्दै भण्डारीले न्यायसंगत तथा व्यावहारिक रूपमा रुजु फिर्ताको व्यवस्था हुनुपर्ने माग गरे । महासंघको सदस्यता विस्तारका लागि सदस्यता शुल्कलाई सुलभ बनाउनुपर्ने र देशभरका निर्माण व्यवसायीलाई एउटै छातामुनि समेट्नुपर्ने उनको भनाइ थियो । कोशी प्रदेशका निर्माण व्यवसायीको हक, हित र अधिकार संरक्षणका लागि आफू सधैँ व्यवसायीको साथमा रहने प्रतिबद्धता पनि भण्डारीले व्यक्त गरे ।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार बलिभद्र रानाले निर्माण क्षेत्रमा भएका राम्रा तथा गुणस्तरीय कामको सबै पक्षबाट प्रशंसा हुनुपर्ने बताए । कोशी प्रदेश समितिले कानुनी र प्राविधिक क्षेत्रका एक–एक जना विज्ञलाई सल्लाहकार नियुक्त गरेकोप्रति खुसी व्यक्त गर्दै उनले व्यवसायीका व्यावसायिक, प्राविधिक तथा कानुनी समस्या समाधानका लागि प्रदेश समितिले चालेको कदम सराहनीय रहेको बताए । उनले महासंघको ९औँ अधिवेशनको पूर्ण सफलताको शुभकामना पनि व्यक्त गरे ।
अधिवेशनको उद्घाटन सत्रमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे, निवर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापालगायतको उपस्थिति थियो । दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको पहिलो दिन उद्घाटन तथा विभिन्न विषयमा छलफल भएको छ । दोस्रो दिन संगठनात्मक विषयमा छलफलसँगै नयाँ नेतृत्व चयनलगायतका कार्यक्रम हुने महासंघले जनाएको छ ।

























