
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा लगानीका लागि अनुकूल वातावरण र पर्याप्त सम्भावना रहेकाले निर्धक्क भएर लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीलाई आह्वान गरेका छन्। उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा नयाँ लगानी गर्न तथा नेपालमा यसअघि लगानी गरिसकेका भारतीय कम्पनीलाई लगानी विस्तार गर्न आग्रह गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा दुई दिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले आइतबार नयाँ दिल्लीस्थित होटेल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्ड टेबल’लाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन्। भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई लगानीको उर्वर गन्तव्यका रूपमा प्रस्तुत गर्दै भारतीय निजी क्षेत्रलाई लगानीका अवसर उपयोग गर्न आग्रह गरे।
‘सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु’, अर्थमन्त्री वाग्लेले भने, ‘नेपालमा लगानी गरिसकेकाहरूले आफ्नो लगानी विस्तार गर्नुहोस्। नेपाल अहिले लगानीका लागि उर्वर वातावरण र सम्भावना भएको ठाउँ हो।’
वाग्लेले नेपालमा विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकता दिएको पनि स्पष्ट पारे। लगानी प्रक्रियालाई सरल, सहज र लगानीमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै उनले लगानीको सुरक्षा, प्रतिफलको सुनिश्चितता तथा नाफा फिर्ता लैजाने प्रक्रियामा कानुनी सहजीकरणका लागि सरकारले विशेष पहल गरिरहेको बताए।
नेपालमा लगानी गर्ने विदेशी कम्पनीले कानुनी जटिलता र प्रक्रियागत झन्झट व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले सरकारले सुधारका काम अघि बढाइरहेको उनको भनाइ थियो। लगानीकर्ताको विश्वास जित्न नीतिगत स्थिरता, लगानीको सुरक्षा र प्रतिफल सुनिश्चिततालाई सरकारले महत्त्व दिएको उनले उल्लेख गरे।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य राज्यमन्त्री जितिनप्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा। विक्रमजित सिंह साहनीलगायतले पनि सम्बोधन गरेका थिए।
नेपालबाट प्रधानमन्त्रीको भ्रमण टोलीसँगै भारत पुगेका उद्योगी–व्यवसायी तथा डेढ दर्जनभन्दा बढी भारतीय उद्योगी, व्यवसायी र प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको कार्यक्रममा सहभागिता थियो।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा सरकारी तहमा ऊर्जा, व्यापार र पूर्वाधार विकासका विषयमा छलफल भइरहेका बेला निजी क्षेत्रबीच लगानी र व्यावसायिक सहकार्य विस्तार गर्ने उद्देश्यले आयोजित यो कार्यक्रमलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।

























