
काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनाको अवधिमा १ लाख २३ हजार ७१४ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्। यो सङ्ख्या गत वर्षको सोही अवधिको तुलनामा २९ हजार ११० अर्थात् करिब ३० प्रतिशतले बढी हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका अनुसार यस वर्ष साउनमा २६ हजार ५९१, भदौमा १७ हजार ९१३, असोजमा ३२ हजार ९३६ र कात्तिकमा ४६ हजार २४७ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। तथ्यांक अनुसार पर्यटकीय याम सुरु भएसँगै पर्यटक आगमनमा तीव्र वृद्धि भएको देखिन्छ।
संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार चार महिनामा आएका पर्यटकमध्ये ५२ हजार ८८६ दक्षिण एसियाली मुलुकका नागरिक हुन् भने बाँकी अन्य देशका पर्यटक रहेका छन्। असोज र कात्तिक मुख्य पर्यटकीय याम भएकाले यस अवधिमा पर्यटकको आगमन बढी हुने गरेको उनले बताए।
आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ। सडक मार्ग हुँदै अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या भने यस तथ्यांकमा समावेश छैन। यस क्षेत्रमा बर्सेनि ठूलो सङ्ख्यामा आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन्।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, पदयात्रा र मौलिक संस्कृतिका कारण अन्नपूर्ण क्षेत्र स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइमा पर्दै आएको छ। अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ तथा म्याग्दीको घोडेपानी यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्।
करिब सात हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक विविधता, जैविक सम्पदा, हिमाली जनजीवन र सांस्कृतिक पहिचानका दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ हिमाल, तालतलैया, वनजंगल, वन्यजन्तु र स्थानीय समुदायको मौलिक जीवनशैलीले पर्यटकलाई आकर्षित गर्दै आएको छ।
कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानबाट छोटो, मध्यम तथा लामो दूरीका पदयात्रा गर्न सकिने भएकाले पनि यो क्षेत्र पदयात्रा प्रेमी पर्यटकको विशेष गन्तव्य बनेको छ। पाँच जिल्लाका १५ स्थानीय तहका ८७ वडा समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र नेपालको प्रमुख पर्यटकीय तथा जैविक विविधतायुक्त क्षेत्रका रूपमा परिचित छ।
पछिल्लो पर्यटक आगमनको वृद्धिले अन्नपूर्ण क्षेत्रको पर्यटन सम्भावना थप उजागर गरेको छ। यसले स्थानीय होटेल, होमस्टे, यातायात, पदयात्रा व्यवसाय तथा पर्यटनमा आधारित रोजगारी र आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।

























