बन्द भयो निगाले सिमेन्ट, १५० मजदुर बेरोजगार

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार ०९:११

विराटनगर । कुनै समय धनकुटासहित पूर्वी पहाडी जिल्लाको सिमेन्ट माग धान्दै आएको धनकुटाको निगाले सिमेन्ट उद्योग अहिले आफैँ अस्तित्वको संकटमा परेको छ। कोरोना महामारीपछि बन्द भएको उद्योग वर्षौं बित्दासमेत पुनः सञ्चालनमा आउन सकेको छैन। उद्योग बन्द हुँदा १५० भन्दा बढी कर्मचारी तथा मजदुर बेरोजगार बनेका छन् भने करोडौँको लगानी जोखिममा परेको छ।

छथर जोरपाटी गाउँपालिका–६, सिधुवामा सञ्चालित उद्योग आर्थिक संकट, कच्चा पदार्थको मूल्यवृद्धि, उत्पादन लागत बढ्नु र बजारमा माग घट्नुजस्ता समस्याका कारण बन्द भएको हो। उद्योग सञ्चालकका अनुसार ठूला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा निरन्तर घाटा व्यहोर्नुपर्ने अवस्था आएपछि उत्पादन बन्द गर्नुपरेको हो।

उद्योग सञ्चालक दिनेश पौडेलले तत्काल उद्योग सञ्चालन गर्ने कुनै तयारी नरहेको बताए। सानो उद्योग भएकाले ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन भएको उल्लेख गर्दै उनले नेपालमा लगानी गरे पनि अपेक्षित प्रतिफल पाउन चुनौतीपूर्ण रहेको बताए।

उद्योगको दैनिक उत्पादन क्षमता ६ हजार बोरा अर्थात् करिब ३०० टन थियो। तर, भौगोलिक अवस्था र चिसो मौसमका कारण स्थापनाकालदेखि नै पूर्ण क्षमतामा सञ्चालन हुन सकेन। वास्तविक उत्पादन दैनिक करिब १५० टनमा सीमित हुने गरेको थियो। आर्थिक मन्दीपछि उत्पादन घटेर दैनिक तीन हजार बोरामा झरेको थियो।

भारतबाट आयात गर्नुपर्ने कोइला, बक्साइट, लेटराइट र जिप्समलगायत कच्चा पदार्थको मूल्य बढ्दै जानु तथा सिमेन्टको बिक्री घट्नुले उद्योगको आर्थिक अवस्था थप कमजोर बनाएको सञ्चालक पौडेलको भनाइ छ।

उद्योग सञ्चालनमा रहँदा धनकुटासहित तेह्रथुम, भोजपुर र संखुवासभाको सिमेन्ट मागको करिब ८० प्रतिशत आपूर्ति गर्दै आएको थियो। उद्योग बन्द भएपछि यी जिल्लाका बजार अन्य क्षेत्रका उद्योगबाट आउने सिमेन्टमा निर्भर हुनुपरेको छ।

उद्योग बन्दको असर रोजगारी र सिमेन्ट आपूर्तिमा मात्र सीमित छैन। उद्योगमा प्रत्यक्ष काम गर्ने मजदुर तथा प्राविधिक कर्मचारीसँगै ढुवानी व्यवसायी, स्थानीय व्यापारी र उद्योगमा आश्रित अन्य व्यवसायसमेत प्रभावित भएका छन्।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष श्रीराम रायमाझीले कोरोना महामारीपछि देखिएको आर्थिक संकटका कारण निगाले सिमेन्टलगायत साना तथा मझौला उद्योग प्रभावित भएको बताए। उद्योग पुनः सञ्चालनका लागि समस्याको पहिचान गरी आवश्यक पहल गर्ने संघको तयारी रहेको उनको भनाइ छ। कच्चा पदार्थ आपूर्ति वा स्थानीयस्तरबाट समाधान गर्न सकिने समस्या भए सहजीकरण गर्न सकिने उनले बताए। तर, उद्योग सञ्चालकको आन्तरिक समस्यामा संघले प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने उनको भनाइ छ।

तीनै तहका सरकारले समन्वय गरेर उद्योग सञ्चालनका लागि पहल गर्नुपर्ने भए पनि अहिलेसम्म ठोस प्रयास हुन नसकेको अध्यक्ष रायमाझीले बताए। छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्रकुमार सुब्बाले भने उद्योग सञ्चालकको आन्तरिक कारणले उद्योग बन्द भएको उल्लेख गर्दै गाउँपालिकाबाट विशेष पहल हुन नसकेको बताए। उद्योग बन्द हुँदा स्थानीय रोजगारी र आर्थिक गतिविधिमा परेको असर भने गम्भीर रहेको उनले स्वीकार गरे।

उद्योग बन्दसँगै आर्थिक दायित्वसमेत थपिँदै गएको छ। नेपाल विद्युत् प्राधिकरण धनकुटाका अनुसार गत असोज मसान्तसम्म उद्योगले जरिवानासहित १५ करोड ८३ लाख ८ हजार ६२९ रुपैयाँ ३० पैसा विद्युत् महसुल बुझाउन बाँकी छ। समयमै महसुल भुक्तानी नगर्दा जरिवाना थपिएर बक्यौता रकम दोब्बरभन्दा बढी पुगेको प्राधिकरणका कर्मचारी हेमचन्द्र थापाले जानकारी दिए।

त्यस्तै, उत्पादित प्रत्येक बोरा सिमेन्टबाट एक रुपैयाँका दरले गाउँपालिकालाई बुझाउने सहमतिअनुसार उद्योगले तिर्नुपर्ने रकम पनि करिब २२ लाख रुपैयाँ बक्यौता रहेको गाउँपालिका अध्यक्ष सुब्बाले बताए। सुरुका वर्षमा रकम बुझाए पनि पछिल्लो समय भुक्तानी रोकिएको उनको भनाइ छ।

एकातिर ठूलो विद्युत् महसुल बक्यौता, अर्कोतिर बजारको प्रतिस्पर्धा र उत्पादन लागतको दबाबले निगाले सिमेन्ट पुनः सञ्चालनको बाटो थप कठिन बनेको छ। उद्योग सञ्चालनमा फर्कने अनिश्चितताले स्थानीय रोजगारी, उत्पादन र पहाडी जिल्लाको औद्योगिक गतिविधिमा समेत दीर्घकालीन असर पर्ने देखिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.