‘नेपालका उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक’

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ७, सोमबार १०:११

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले नेपाल र भारतबीचको आर्थिक साझेदारीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा आयोजित बिजनेस राउन्ड टेबलमा उनले दुई देशबीचको सम्बन्ध भूगोल र इतिहासले जोडेको उल्लेख गर्दै अब समृद्धिका लागि साझेदारी आवश्यक रहेको बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले नेपाल-भारत आर्थिक सहकार्यका लागि व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा, लगानी र प्रविधि गरी सातवटा मुख्य क्षेत्रको पहिचान गरेका छन् । उनले सुरक्षित तथा आधुनिक सीमा व्यवस्थापन र लगानीको संरक्षणका लागि दुवै पक्षबाट प्रतिबद्धता हुनुपर्ने धारणा राखे ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले नेपाली उद्योगीहरूले भोगिरहेका समस्याबारे पनि ध्यानाकर्षण गराए । उनले विशेषगरी जुट, फलामे छड र इस्पात उद्योगहरूले गुणस्तर प्रमाणीकरणलगायतका चुनौती सामना गरिरहेको बताए । भारतीय पक्षबाट बेला-बेलामा हुने अवरोधले नेपाली व्यवसायीहरू मारमा परेको उल्लेख गर्दै उनले अधिकांश उद्योगको कच्चा पदार्थ भारतबाटै आयात हुने भएकाले ती उद्योगको संरक्षणमा भारतको प्रोत्साहन आवश्यक रहेको तर्क गरे ।

यसैगरी, व्यवसायी दीपक मलहोत्राले भारतीय लगानीकर्ताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिए । बिजनेस राउन्ड टेबलपछि पनि ठूला उद्योग सञ्चालनका विषयमा भारतीय व्यवसायीहरूसँग थप छलफल हुने उनले बताए । सरकारले नेपालमा मल कारखाना स्थापना गर्ने योजना अघि सारेकाले सो परियोजनामा पनि भारतीय व्यवसायीसँग सहकार्य गर्न सकिने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.