
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा चार अर्ब २५ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ७४ करोड रुपियाँ मात्र लगानी भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष लगानीको मात्रा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।
यसैबीच, चालु आर्थिक वर्षको चार महिनामा १९ अर्ब ५५ करोड रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार साउनदेखि कात्तिकसम्म ४९७ वटा परियोजनाका लागि सो प्रतिबद्धता आएको हो । गत आर्थिक वर्षको सोही अवधिमा ३६ अर्ब ६८ करोड रुपियाँको प्रतिबद्धता आएको थियो, जुन यस वर्षको तुलनामा झन्डै आधाले कम हो ।
विभागको तथ्याङ्कअनुसार यस वर्ष सबैभन्दा धेरै ४९१ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यसबाहेक चारवटा ठुला र दुईवटा मझौला उद्योगमा लगानी गर्ने प्रस्ताव आएको छ । क्षेत्रगत रूपमा हेर्दा १८६ वटा पर्यटनमूलक उद्योगका लागि आठ अर्ब ६६ करोड रुपियाँ प्रतिबद्धता आएको छ, जुन सबैभन्दा बढी हो ।
त्यस्तै, तीनवटा ऊर्जामूलक उद्योगमा चार अर्ब पाँच करोड र ४४ वटा सेवामूलक उद्योगमा तीन अर्ब ९५ करोड रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ । सङ्ख्यात्मक आधारमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै २७२ वटा उद्योग दर्ता भएका छन् । यसका साथै २९ वटा उत्पादनमूलक उद्योगमा एक अर्ब ७५ करोड रुपियाँ लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ ।

























