
काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दैछन् ।
बिहान ११ बजे हैदराबाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय बैठकमा आर्थिक सहकार्य विस्तार र ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुनेछ ।
भ्रमणका क्रममा करिब दुई अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग, नयाँ हवाई मार्गको स्वीकृति र नेपालमा भारतीय कम्पनीको लगानी भित्र्याउने विषय मुख्य एजेन्डाका रूपमा रहेका छन् ।
कार्यतालिकाअनुसार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ । त्यसपछि १०:४० बजे उनले राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन् ।
बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। दिउँसो १२:३५ बजे विभिन्न परियोजनाको भर्चुअल उद्घाटन, सम्झौतापत्र आदानप्रदान र प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम छ। त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्रीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन् ।
सोमबार दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

























