
विराटनगर । कोशी प्रदेशको लेलेप आसपास केन्द्रबिन्दु बनाएर मंगलबार बिहान ५.४ म्याग्निच्युडको भूकम्प गएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बिहान ७ बजेर १७ मिनेटमा गएको भूकम्पको धक्का नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस गरिएको जनाइएको छ।
प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको छ। भूकम्पको धक्का विराटनगरसहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो।
अचानक घर तथा भवन हल्लिएपछि सर्वसाधारण त्रसित भएका थिए। भूकम्पको धक्का पाँच देशसम्म महसुस भएको विवरण सार्वजनिक भए पनि यसको म्याग्निच्युड, केन्द्रबिन्दु र प्रभावित क्षेत्रबारे आधिकारिक निकायबाट पुष्टि हुन बाँकी छ।
भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरणसमेत प्राप्त हुन सकेको छैन।

























