माटाका भाँडामा पुर्खाको सीप

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १०:१६

सुनसरी । इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडाकुँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन्।

बजारमा प्लास्टिकका भाँडाकुँडाको प्रयोग बढेसँगै माटाका सामग्रीको माग घट्दै गएको छ । गाउँदेखि सहरसम्म माटाका भाँडाकुँडाको प्रयोग कम हुँदै गए पनि पुर्खादेखि चल्दै आएको पेसा भएकाले आफूले निरन्तरता दिएको पण्डितले बताए ।

पहिले हातले माटो मुछेर विभिन्न आकारका भाँडाकुँडा बनाउनुपर्ने भए पनि अहिले मेसिनको प्रयोगले काम सहज भएको उनको अनुभव छ । ‘पहिले हातले माटो मुछ्न र सामग्री बनाउन धेरै समय र मेहनत लाग्थ्यो । अहिले मेसिन ल्याएपछि माटाका सामग्री बनाउन सजिलो भएको छ। यसले समय र मेहनत दुवै कम लाग्ने गरेको छ,’ उनले भने ।

पण्डितले माटाका गिलास, दियो, पाला, हात्तीका मूर्ति, गमला, खुत्रुके तथा पूजापाठमा प्रयोग हुने विभिन्न सामग्री बनाउँदै आएका छन् । वर्षभरि सामान्य सामग्री बिक्री हुने भए पनि तिहार र छठजस्ता चाडपर्वमा माग बढ्ने गरेको उनले बताए ।

‘हेर्दा सजिलो जस्तो देखिए पनि माटाका सामग्री बनाउन मेहनत चाहिन्छ । सुरुमा माटो ल्याउनुपर्छ । त्यसपछि पानी मिसाएर मुछ्ने, मेसिनको सहायताले विभिन्न आकार दिने, घाममा सुकाउने, रङ लगाउने र भट्टीमा पोलेपछि मात्रै बिक्रीका लागि तयार हुन्छ,’ उनले भने ।

पहिले सुनसरीको चिमडीबाट माटो ल्याउने गरे पनि अहिले त्यहाँ माटो पाउन छाडेकाले सप्तरीबाट ल्याउनुपर्ने अवस्था रहेको पण्डितले बताए । माटो ढुवानीका लागि ट्र्याक्टरमा १० हजारदेखि १५ हजार रुपैयाँसम्म र टिपरमा ल्याउँदा २० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ । एक गाडी माटोबाट करिब एक लाख ५० हजार रुपैयाँ मूल्य बराबरका सामग्री बनाउन सकिने उनले जानकारी दिए ।

तिहार र छठका बेला मात्रै एक लाखदेखि दुई लाख रुपैयाँसम्मका सामग्री बिक्री हुने गरेको पण्डितले बताए । ‘यो हाम्रो पुर्ख्यौली पेसा हो। आम्दानीको स्रोत पनि यही हो । वर्षभरि यही व्यवसाय गरेर परिवारको जीविकोपार्जन गर्दै आएका छौँ । अरू पेसा छैन। वर्षमा कति मूल्यका सामग्री बिक्री हुन्छन् र खर्च कटाएर कति बचत हुन्छ भन्ने हिसाब राख्ने गरेका छैनौँ । खानलाउन परिवारलाई पुगेकै छ,’ उनले भने ।

आफ्नै व्यवसाय भएकाले आफूलाई अनुकूल हुने समयमा काम गर्न पाइने र परिवारसँगै बस्न सकिने पण्डित बताउँछन् । स्वदेशमै आफ्नै व्यवसाय हुँदा विदेश जानुपर्ने बाध्यता नहुने उनको भनाइ छ । उनले बनाएका सामग्री बिक्रीका लागि बजारसम्म लैजानुपर्ने अवस्था छैन । घरनजिकै बिहीबारे हाटबजार भएकाले ग्राहक घरमै आएर सामग्री खरिद गरी लैजाने गरेका छन् । यसले गर्दा बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या नरहेको उनले बताए ।

माटाका भाँडाकुँडाको प्रयोग घट्दै गएपछि यस पेसामा आबद्ध धेरैले व्यवसाय परिवर्तन गरेको पण्डितको भनाइ छ । अहिले थोरैले मात्रै पुर्खाले गर्दै आएको पेसालाई निरन्तरता दिइरहेका छन् । ‘बाउबाजेले गर्दै आउनुभएको पेसा भएकाले यसलाई निरन्तरता दिएको हुँ। यही काम गरेर घरपरिवारको खर्च धान्दै आएको छु । आफ्नो पुर्ख्यौली पेसा जोगाउन पाउँदा खुसी छु,’ उनले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.