‘भारत भ्रमणका सहमति कार्यान्वयनलाई प्राथमिकता दिनुपर्छ’

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ८, मंगलबार १३:५४

विराटनगर । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणका क्रममा भएका सहमति र समझदारीलाई निजी क्षेत्रले सकारात्मक रूपमा लिएको छ । तर ती सहमतिबाट उद्योग, उत्पादन र निर्यात क्षेत्रमा वास्तविक लाभ लिन कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष भीम घिमिरेले बताएका छन् ।

उनले नेपाल र भारतबीचको सम्बन्धलाई राजनीतिक तथा कूटनीतिक तहमा मात्र सीमित नराखी आर्थिक सहकार्य, लगानी, व्यापार, ऊर्जा, पूर्वाधार र उत्पादनसँग जोड्ने प्रयास स्वागतयोग्य रहेको बताए ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएकाले दुई देशबीचको आर्थिक सम्बन्धलाई सन्तुलित, व्यावहारिक र उत्पादनमुखी बनाउनुपर्ने उनको भनाइ छ । भ्रमणका क्रममा ऊर्जा, जलविद्युत्, पेट्रोलियम पूर्वाधार, कृषि, पशुपालन, औषधि, स्वास्थ्य, प्रविधि तथा सहरी विकासलगायतका क्षेत्रमा भएका सहमतिले नेपालको दीर्घकालीन आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने उनले बताए ।

विशेषगरी जलविद्युत् विकास, विद्युत् प्रसारण लाइन, पेट्रोलियम पाइपलाइन र पूर्वाधार निर्माणमा भारतीय लगानी तथा सहकार्य विस्तार हुन सके नेपालको औद्योगिकीकरणमा सहयोग पुग्ने घिमिरेको भनाइ छ । भारतले पुनर्निर्माण तथा पूर्वाधार विकासका लागि घोषणा गरेको अनुदान र सहुलियतपूर्ण ऋण सहयोगलाई पनि उनले महत्त्वपूर्ण मानेका छन् । तर त्यसबाट लाभ लिन आयोजना छनोट, लगानी परिचालन र कार्यान्वयन पारदर्शी, प्रभावकारी र छिटो हुनुपर्ने उनले बताए ।

भ्रमणका सहमतिले नेपाली उद्योग तथा उत्पादन क्षेत्रलाई तत्काल प्रत्यक्ष लाभ पुगिसकेको अवस्था भने नरहेको उनको भनाइ छ । नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउनुपर्ने, निर्यातका क्रममा देखिने गैरभन्सार अवरोध, गुणस्तर परीक्षण, प्रमाणपत्रको मान्यता र प्रशासनिक जटिलता हटाउनुपर्ने उनले औँल्याए ।

त्यस्तै, नेपाल–भारत व्यापार सन्धिको समयसापेक्ष पुनरावलोकन गरी नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए । जुट, स्टिल, सिमेन्ट, इँटा, कृषि तथा अन्य उत्पादनमूलक उद्योगका समस्या समाधान गर्न उच्चस्तरीय पहल आवश्यक रहेको उनले बताए ।

नेपालमा भारतीय लगानी आकर्षित गर्न ऊर्जा, कृषि प्रशोधन, उत्पादनमूलक उद्योग, पूर्वाधार र पर्यटन क्षेत्रमा संयुक्त लगानी तथा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ । साथै विद्युत्को गुणस्तर र नियमित आपूर्ति, ढुवानी तथा वित्तीय लागत, भन्सार प्रक्रिया र औद्योगिक पूर्वाधारमा सुधार गरेर उत्पादन लागत घटाउनुपर्ने उनले बताए ।

घिमिरेले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच आर्थिक सहकार्य विस्तार गर्ने आधार तयार गरे पनि त्यसको सफलता सम्झौतामा नभई कार्यान्वयनबाट मापन हुनुपर्ने बताए । उद्योग स्थापना, उत्पादन वृद्धि, निर्यात विस्तार, रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरणमा कति योगदान पुग्छ भन्ने विषय महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

उनले भ्रमणका क्रममा प्राविधिक विषयमा अध्ययन गर्न आयोग वा संयन्त्र निर्माण गर्ने सहमति भएको भए त्यसले अनावश्यक समय लिन नहुने बताए । त्यस्तो आयोगले छिटो प्रतिवेदन दिएर त्यसको कार्यान्वयन तत्काल अघि बढाउनुपर्ने उनको भनाइ छ । त्यसो भए मात्रै मुलुकले निकास पाएको अनुभूति हुने उनले बताए ।

यद्यपि, अहिले नै भ्रमणबारे पूर्ण धारणा सार्वजनिक गर्ने पक्षमा आफूहरू नरहेको घिमिरेले बताए । दुवै देशका प्रधानमन्त्रीबीच एक घण्टा भएको गोप्य बैठकमा भएका छलफल र सहमति सार्वजनिक भएपछि थप धारणा राख्ने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा ६० सेकेन्डको पल्स अवधि लागू
नेप्से परिसूचक १५ अङ्कले बढ्यो, पाँच अर्ब ५५ करोडको कारोबार
चीनका सरकारी अधिकारीलाई जासुसीको आरोपमा मृत्युदण्ड
स्विस सहयोगका परियोजनालाई निरन्तरता दिने राजदूतको प्रतिबद्धता
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
राजनीति सत्ताकेन्द्रित हुँदा जनअपेक्षाअनुसार काम भएन: थापा
लामो समयदेखि बन्द धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालन अनिश्चित
ठेक्का रद्द गर्ने प्रवृत्तिले राष्ट्रिय गौरवका आयोजना प्रभावित : सांसद महेन्द्रबहादुर शाही
बाल शिक्षालाई प्रभावकारी बनाउन कोशीमा प्रदेशस्तरीय शैक्षिक सम्मेलन हुँदै 
‘देश उंभो लाउने टोली’ भन्दै प्रधानमन्त्री बालेनले सार्वजनिक गरे मन्त्रीहरूसँगको तस्वीर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.