
काठमाडौं । यस वर्षको हिउँदमा हिन्दुकुश हिमालय क्षेत्रका अधिकांश देशमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), बेइजिङ नर्मल युनिभर्सिटी र चिनियाँ विज्ञान प्रतिष्ठानको वायुमण्डलीय भौतिकी संस्थाले संयुक्त रूपमा तयार पारेको प्रतिवेदनले नेपालसहित अफगानिस्तान, बङ्गलादेश र उत्तरी म्यानमारमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।
इसिमोडले सार्वजनिक गरेको ‘एचकेएच विन्टर आउटलुक २०२६’ ले पश्चिम हिमालय क्षेत्रमा भारी वर्षाका कारण स्थानीय बाढी, पहिरो र हिमपहिरोको जोखिम औँल्याएको छ । अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (नोआ) ले बलियोदेखि अति बलियो एल निनो विकसित भइरहेको जनाएको छ । सन् १९५० यताका अभिलेखमा सबैभन्दा बलियो एल निनो बन्ने सम्भावना करिब ६० प्रतिशत रहेको नोआको भनाइ छ ।
इसिमोडका वैज्ञानिकहरूका अनुसार एल निनोका कारण पहाडको फेदीमा बढी वर्षा र उच्च भूभागमा बढी हिमपात हुन सक्छ । प्रतिवेदनअनुसार नेपालभर सामान्यभन्दा बढी वर्षा हुने अनुमान छ। मध्य क्षेत्रमा यसको संकेत सबैभन्दा बलियो देखिएको छ।
पहाडी क्षेत्रमा तापक्रम सामान्यभन्दा बढी र उच्च भूभागमा सामान्यभन्दा कम रहने सम्भावना छ। उत्तरी भेगमा सामान्यभन्दा बढी हिमपात हुने अनुमान गरिएको छ । नेपालका अधिकांश वन तथा घाँसे क्षेत्रमा डढेलोको जोखिम निकै कम रहने भए पनि पश्चिम र पूर्वी किनारका केही स्थानमा कमदेखि मध्यम जोखिम रहन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
अफगानिस्तान, पाकिस्तान, उत्तर भारत र नेपालका केही भागमा सामान्यभन्दा बढी हिउँ जम्मा हुने अनुमान गरिएको छ । हिउँको गहिराइ नदीको प्रवाह कायम राख्ने र आगामी वर्षको पानीको उपलब्धता निर्धारण गर्ने महत्त्वपूर्ण सूचक हो ।भुटानका केही भाग र चीनको पूर्वी शिजाङमा भने सामान्यभन्दा कम हिउँ पर्ने देखिएको छ। यसले सिँचाइ, जलविद्युत् र मूलको पानीको प्रवाहमा असर पार्न सक्ने प्रतिवेदनले चेतावनी दिएको छ ।
अधिक वर्षा हुने वर्षमा पनि डढेलोको जोखिम पूर्ण रूपमा हट्दैन । हिमालयी क्षेत्रका केही भागमा सुख्खा मौसमका कारण घाँस र वनस्पति सुक्दा आगलागीको जोखिम बढ्न सक्छ । दक्षिणपूर्वी शिजाङ र म्यानमारका केही क्षेत्रमा वन तथा घाँसे भूभागमा उच्चदेखि अति उच्च डढेलोको जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ ।
गत मनसुनको क्षतिपछि थप सतर्कता
यो प्रक्षेपण नेपाल र भुटानमा हिमनदी तथा पर्माफ्रोस्टमा आएको परिवर्तनका कारण विनाशकारी घटना भएका मनसुनपछि सार्वजनिक भएको हो । विशेषगरी सन् २०२६ अगस्टमा रसुवामा गएको चट्टान–हिमपहिरोले ठूलो क्षति गरेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुमानअनुसार त्यसबाट भएको क्षतिको राहत र पुनर्निर्माणका लागि नेपाललाई ४.७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिएको छ ।
प्रतिवेदनका मुख्य लेखक सार्थक श्रेष्ठले मौसम प्रणाली र नदीले राष्ट्रिय सीमा नमान्ने भएकाले ज्ञान र सहकार्य पनि सीमामा बाँधिन नहुने बताए । ‘क्षेत्रीय विशेषज्ञता र उन्नत पूर्वानुमान विधि जोडेर यो आउटलुकले आठै हिन्दुकुश हिमालय देशलाई आगामी मौसमको साझा तस्बिर दिन्छ, जसले सीमापार सहकार्य सजिलो बनाउँछ,’ उनले भने।
इसिमोडका जलविज्ञ मनिष श्रेष्ठले मनसुन सकिएसँगै विपद् व्यवस्थापनको तयारी पनि रोकिन नहुने बताए। ‘वर्षा अनियमित र तीव्र हुँदै जाँदा स्थानीय निकायलाई अग्रिम योजना बनाउन मौसमी आउटलुक र कहाँ, कहिले के गर्ने भन्ने निर्णय लिन छोटो अवधिको स्थानीय पूर्वानुमान चाहिन्छ,’ उनले भने ।
विपद् जोखिम न्यूनीकरण व्यवस्थापक सस्वत सान्यालले आउटलुकले अर्को हिमपहिरो कहिले आउँछ भन्ने ठ्याक्कै बताउन नसके पनि हिमाली भञ्ज्याङ बन्द हुनुअघि छोटो अवधिको पूर्वानुमान र पूर्वसूचनाका आधारमा तयारीका लागि बजेट निकासा गर्ने व्यवस्था गर्न सरकारहरूबीच सहमति हुन सक्ने बताए ।
हिमशिला (क्रायोस्फियर) का वरिष्ठ व्यवस्थापक मोहद फारुख आजमका अनुसार न्यानो हिउँदमा हिउँको सट्टा बढी पानी पर्न सक्छ । पश्चिम हिमालयमा बढी हिउँ पर्ने अनुमान भए पनि हिमपहिरो र हिउँमाथि वर्षा हुने जोखिम रहने उनले बताए । पूर्वी क्षेत्रमा कम हिउँ पर्दा वसन्त ऋतुमा पानीको आपूर्तिमा चाप पर्न सक्ने उनको भनाइ छ ।
सन् २०२५ को तुलनामा यसपटक राम्रो हिमपात भएमा भारतको गुल्मर्ग र औलीमा स्की पर्यटनलाई टेवा पुग्न सक्ने उनले बताए । पानी व्यवस्थापक, जलविद्युत् सञ्चालक र किसानले जलाशय सञ्चालन, पानी बाँडफाँट र सिँचाइ योजनाका लागि अद्यावधिक पूर्वानुमान प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।
इसिमोडकी वायु विशेषज्ञ आशिष तिवारीले नेपालसँग राष्ट्रिय वन डढेलो कार्ययोजना र उपग्रहमा आधारित डढेलो पहिचान प्रणाली रहेको बताए । अब सुख्खा मौसम सुरु हुनुअघि नै डढेलो रोकथाममा लगानी गर्नुपर्ने उनको भनाइ छ । नगरपालिका र वन कार्यालयले सामुदायिक वन उपभोक्ता समूहसँग मिलेर आगो नियन्त्रण रेखा कायम राख्ने, तालिमप्राप्त प्रतिकार्य टोली तयार गर्ने र सूचना प्राप्त भएपछि कसले के गर्ने भन्ने स्पष्ट व्यवस्था गर्नुपर्ने उनले बताए ।
इसिमोडले नोभेम्बर २५ देखि २७ सम्म काठमाडौंमा ‘एचकेएच क्रायोस्फियरका लागि विज्ञान, नीति र क्षेत्रीय सहकार्यको प्रवर्द्धन’ शीर्षकको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । संयुक्त राष्ट्रसङ्घको क्रायोस्फेरिक विज्ञानका लागि कार्य दशक (२०२५–२०३४) अन्तर्गत हुने सम्मेलनमा क्षेत्रभरका वैज्ञानिक र नीति निर्माता सहभागी हुनेछन् । सम्मेलनमा अनुगमन, पूर्वचेतावनी प्रणाली र क्षेत्रीय सहकार्यका प्राथमिकता तय गर्ने लक्ष्य राखिएको इसिमोडले जनाएको छ ।



















