
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पुनः आईजीपीमा बहाल गर्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुने भएको छ ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि कार्कीले उक्त निर्णय बदर गरी आफूलाई पुनः आईजीपीमा बहाल गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि उक्त रिटमा दुई पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । गत मङ्सिर ७ गते न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो। तर, कार्कीपछि आईजीपीमा नियुक्त भएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै सुनुवाइ रोकिएको थियो । त्यसपछि मुद्दाको पेसी मङ्सिर ९ गतेका लागि तोकिएको थियो ।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो । उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो ।
यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको थियो ।
आजको संयुक्त इजलासमा हुने सुनुवाइबाट कार्कीको पुनर्बहालीको माग र अन्तरिम आदेशको विषय अघि बढ्नेछ ।



















