नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास

Share this
736shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार ११:१६

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण बुधबारदेखि सुरु भएको छ ।

रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको शुभारम्भ श्री मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दुवै देशका गणस्तरका सैनिक सहभागी हुने अभ्यास मङ्सिर २३ गतेसम्म सञ्चालन हुनेछ ।

२०६७ सालदेखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहायतासम्बन्धी विषयमा दुवै देशका सैनिकले सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गर्ने निर्देशनालयले जनाएको छ ।

यस किसिमको अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको पेसागत ज्ञान र आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.