इलामको इतिहास, समाज र संस्कृति समेटिएको ‘इलामको नालीबेली’ कृति लोकार्पण

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १०, बिहीबार १२:५०

इलाम । लेखक, अनुसन्धानकर्ता तथा मानवशास्त्री खेमराज नेपालको अनुसन्धानात्मक कृति ‘इलामको नालीबेली’ लोकार्पण गरिएको छ। इलामको इतिहास, समाज, संस्कृति, भूगोल तथा आर्थिक जीवनका विविध पक्ष समेटिएको उक्त कृति इलाम नगरपालिका र इलाम विकास समाजको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो।

कृतिको लोकार्पण शिक्षाविद् एवं पूर्वराजदूत केदारभक्त माथेमा, इलाम नगरपालिकाका प्रमुख केदार थापा, सांसद निष्कल राई, वरिष्ठ इतिहासविद् प्राडा सुरेन्द्र केसी, पूर्वसचिव लीलामणि पोखरेल, लेखक तथा चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र समाजसेवी शम्भु श्रेष्ठलगायतले संयुक्त रूपमा गरेका हुन्।

कार्यक्रमको सुरुवात भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणबाट गरिएको थियो। कार्यक्रममा अनुसन्धानकर्ता नेपाललाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि माथेमाले कृतिकार नेपाललाई बधाई दिँदै इलामको चिया विश्वमै उत्कृष्ट रहेको बताए। सेवा निवृत्त जीवनपछि पनि समाजलाई योगदान पुग्ने खोज तथा अनुसन्धानमूलक कार्यमा सक्रिय भएकोमा लेखकको प्रशंसा गर्दै नगरप्रमुख थापाले ‘इलामको नालीबेली’ को अपनत्व ग्रहण गरेर नगरपालिकाले प्रकाशनको जिम्मेवारी लिएको जानकारी दिए। उनले इलाममा मेडिकल कलेजको आवश्यकता पनि औँल्याए।

कृतिकार नेपालले इलामको समग्र इतिहास, समाज र पहिचान समेटिएको पुस्तकको अभाव महसुस गरी आफूले अनुसन्धान गरेर कृति तयार पारेको बताए।

पुस्तकमाथि समीक्षात्मक मन्तव्य राख्दै प्राडा प्रेमसागर चापागाईंले ‘इलामको नालीबेली’ इलामको इतिहास र सामाजिक संरचना बुझ्न उपयोगी दुर्लभ दस्तावेज भएको बताए। उनका अनुसार पुस्तकमा इलामको नामकरण, इतिहास, लिम्बू समुदाय, जमिनको वर्गीकरण, भूउपयोग, तत्कालीन समाज, संस्कृति र धर्मका साथै सतीप्रथा, कमाराकमारी राख्ने व्यवस्था, छुवाछुत र परम्परागत श्रम विभाजनजस्ता विषय समेटिएका छन्।

त्यस्तै, वरिष्ठ पत्रकार तथा लेखक धर्म गौतमले कृतिको विविध पक्षमाथि समीक्षा गरेका थिए । इतिहासविद् प्राडा सुरेन्द्र केसीले इलाममा क्याम्पस प्रमुखका रूपमा काम गर्दाको अनुभव सुनाउँदै शैक्षिक क्षेत्र र प्रशासनमा देखिएका विकृतिप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका थिए। सांसद निष्कल राईले लेखकलाई बधाई दिँदै कृतिले इलामको इतिहास र पहिचान संरक्षणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

इलाम विकास समाजका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले सहजीकरण गरेको कार्यक्रममा नगरप्रमुख थापाले स्वागत मन्तव्य राख्दै कृतिको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए।

स्रष्टा ध्रुवराज थापाका अनुसार कार्यक्रममा पूर्वसचिवहरू दिनेश थपलिया, भोजराज पोखरेल, लीलामणि पोखरेल, डीबी भट्टराई, विमल वाग्ले र केदार न्यौपाने, पूर्वराजदूत डा. मदनकुमार भट्टराई, साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, धरणीप्रसाद गौतम, डा.शैलेन्द्रप्रकाश नेपाल तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष विष्णु निष्ठुरीलगायतको उपस्थिति थियो।

कार्यक्रममा इलामको वनस्पति, प्राकृतिक तथा सांस्कृतिक सम्पदाका विषयमा समेत चर्चा गरिएको थियो। इलामको ऐतिहासिक पृष्ठभूमिदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक जीवनसम्मका विविध पक्ष समेटिएकाले ‘इलामको नालीबेली’ जिल्लाको पहिचान र इतिहास अभिलेखीकरण गर्ने महत्त्वपूर्ण अनुसन्धानात्मक कृतिका रूपमा रहने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेश सभा सचिवालय
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो छलफल
किसानका समस्या समाधान गर्न राष्ट्रिय किसान सञ्जालको ११ बुँदे माग, आन्दोलनको चेतावनी
पुलिसलाई हराउँदै आर्मी झापा महिला गोल्डकपको फाइनलमा 
सोबिता गौतमलाई मन्त्रिपरिषद्को तेस्रो वरीयता, कसको स्थान कहाँ?
बालेनको भारत भ्रमणबारे ओलीका  कटाक्ष : गार्ड अफ अनरदेखि ग्रेटर नेपालको नक्सासम्म
धरानमा महिला सुधार केन्द्रको भवन बनाइँदै
संविधान मिचेर स्थानीय तह र प्रदेशको चुनाव एकैपटक गर्न हुँदैन: प्रचण्ड
बैंककको तेल प्रशोधन केन्द्रमा विस्फोट, आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह
पर्यटन विकासका कानुनी सुधारबारे ६ मन्त्रीबीच छलफल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.