
पाँचथर । हिउँद सुरु भइसक्दा पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा डाइभर्सन निर्माणको प्रयास हुन सकेको छैन । डाइभर्सन नहुँदा यस खण्डमा दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
खोलामा पानीको बहाव घटेसँगै तमोर करिडोरको फिदिम–मुलघाट खण्डमा यातायात नियमित भएको छ । तर फिदिम–काबेली खण्डमा भने ठूला सवारीसाधन मात्रै सञ्चालन भइरहेका छन् । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमामा पर्ने हेंवा खोलामा पानीको बहाव अझै पर्याप्त रहेकाले साना सवारीसाधन पार गर्न सक्ने अवस्था नरहेको हिलिहाङ–७ माझीटारका रामकुमार माझीले बताए ।
उनका अनुसार यस खण्डको निर्माण गरिरहेको एपेक्स निर्माण कम्पनीले तिहारपछि विगतमा डाइभर्सन रहेको स्थानबाट ठूला सवारीसाधन पार गर्न सक्ने संरचना बनाएको छ । तर दुई र तीनपाङ्ग्रे तथा साना चारपाङ्ग्रे सवारीसाधनका लागि डाइभर्सन बनाइएको छैन ।
साना सवारीसाधन सञ्चालन हुन नसक्दा तमोर करिडोरले समेट्ने हिलिहाङ गाउँपालिकाका बासिन्दा बढी प्रभावित भएका छन् । सदरमुकाम आवतजावत गर्न दोब्बरभन्दा बढी दूरी घुमेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्र मङ्ग्रातीले बताए ।
‘डाइभर्सन नहुँदा सदरमुकाम आवतजावत गर्न दोब्बरभन्दा बढी दूरी यात्रा गर्नुपर्ने बाध्यता छ । तमोर करिडोर सडक आयोजना र निर्माण कम्पनीको हेलचेक्र्याइँले हामीले दुःख पाइरहेका छौँ,’ हिलिहाङ-५ का मङ्ग्रातीले भने, ‘यस विषयलाई सम्बन्धित निकायले गम्भीरताका साथ लिनुपर्छ ।’
फिदिम-४ माझीटारका व्यवसायी रमेश तामाङले निर्माण कम्पनी र सरकारी निकायले सामान्य कामसमेत नगरिदिँदा यात्रुले लामो र घुमाउरो बाटो प्रयोग गर्नुपरेको बताए । यसले माझीटार क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको उनको भनाइ छ ।
‘एकातिर घुमाउरो बाटो हिँड्नुपरेको छ, अर्कातिर माझीटार क्षेत्रको व्यापार व्यवसाय चौपट भएको छ,’ तामाङले भने ।
यस वर्ष गत चैतदेखि निरन्तर वर्षा भएकाले डाइभर्सन टिक्न नसकेको स्थानीयको भनाइ छ । विगतमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरेर यातायात सञ्चालन गरिँदै आएको थियो । तर यस वर्ष यातायात अवरुद्ध भएको आठ महिना बितिसक्दा पनि डाइभर्सन निर्माण हुन सकेको छैन । फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाले समन्वय गरेर तत्काल काम अघि बढाउनुपर्ने स्थानीयवासीको माग छ ।
निर्माणाधीन तमोर करिडोर सडकको हेंवा खोलामा पुल निर्माण हुन बाँकी छ । यहाँ रहेको बेलिब्रिज र खोला किनारको सडक २०८० साल असारमा आएको बाढीले बगाएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । विगतमा नियमित रूपमा डाइभर्सन मर्मत तथा पुनर्निर्माण गरिए पनि यस वर्ष निर्माण कम्पनीले चासो नदिएको स्थानीयको आरोप छ । पुल निर्माणमा समेत प्रगति नभएपछि उनीहरू आक्रोशित बनेका छन् ।

























