
विराटनगर । विराटनगरको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई थप उचाइ दिने उद्देश्यसहित विराटनगर–१० मा ऐतिहासिक एवं धार्मिकस्थल ‘श्री संसारीमाई स्थान दिव्यधाम’ निर्माण गरिने भएको छ। निर्माण अभियानको शुभारम्भ स्वरूप आगामी मंसिर २३ गते बुधबार बिहान ९ः२७ बजे भूमिपूजा कार्यक्रम आयोजना गरिने भएको छ।
संसारीमाई स्थान संरक्षण समितिको अगुवाइमा निर्माण हुन लागेको दिव्यधामलाई विराटनगरको गौरव र धार्मिक आस्थाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
समितिका सचिव रेवतबहादुर कार्कीका अनुसार यो आयोजना मन्दिर निर्माणमा मात्र सीमित नभई धार्मिक आस्था, ऐतिहासिक धरोहरको संरक्षण र पर्यटन प्रवर्द्धनसँग पनि जोडिएको छ। भविष्यमा दिव्यधामलाई कोशी प्रदेशकै प्रमुख धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रूपमा विकास गर्ने समितिको संकल्प रहेको उनले बताए।

उनले यस पवित्र अभियानलाई सफल बनाउन श्रद्धालु भक्तजन, धर्मानुरागी, स्थानीयवासी तथा सम्पूर्ण शुभेच्छुकलाई आर्थिक, भौतिक र नैतिक सहयोगसहित सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।
‘संसारीमाई दिव्यधाम’ २ वर्षभित्र करिब १७ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको बताउँदै, सचिव कार्कीले भने, ‘त्यहाँ बृहत्तर योजनाका साथ समिति अघि बढेको छ । पहिलो चरणमा दिव्यधाम निर्माण गर्ने र त्यसपछि दोस्रो अरू योजना रहेको छ । दिव्यधाममा विभिन्न देवीदेवताका मूर्तिसहित मन्दिर बन्ने छ ।’

दिव्यधाम निर्माणका लागि हालसम्म ४ जनाले ७५ लाख, ६ जनाले ५१ लाख, ९ जनाले २५ लाख, १५ जनाले ११ लाख, २५ जनाले ५ लाख र ३ सय १ जनाले १ लाख २५ हजार रुपैयाँ दिव्यधाम निर्माणका लागि प्रदान गरेको समितिले जनाएको छ ।
समितिले संसारीमाई स्थानको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई संरक्षण गर्दै भावी पुस्तासम्म यसको पहिचान पुर्याउने लक्ष्य राखेको जनाएको छ। दिव्यधाम निर्माणले विराटनगरको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।

























