
ललितपुर । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशनपछि निर्वाचन आयोगले पार्टीको विवरण अद्यावधिक गरिसकेकाले आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न पत्राचार गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको नाम, चुनाव चिह्न र झण्डाको दुरुपयोग नगर्न अर्को पक्षलाई सचेत गराउने निर्णय पनि गरेको सहमहामन्त्री अजयबाबु शिवाकोटीले जानकारी दिए । उनका अनुसार सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको र संविधान तथा लोकतान्त्रिक संस्थामाथि प्रहार गरेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
पासपोर्ट प्रकरण र सुनकोसी–मरिन डाइभर्सन प्रकरणमा राज्यका संयन्त्र दुरुपयोग गरी आर्थिक चलखेल तथा स्वार्थ पूरा गर्न खोजिएको विषयमा पनि बैठकमा छलफल भएको शिवाकोटीले बताए ।
स्थानीय चुनावको तयारीका लागि देशभरका पालिकामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ । सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट लखेटिएको विषयको समेत विरोध गरिएको उनले बताए ।
बैठकका पूर्ण निर्णय शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने कांग्रेसले जनाएको छ ।

























