आँखा फरफराउनु शुभ-अशुभको संकेत होइन

Share this
730shares
मुलुकी खबर
यादव शर्मा
clock२०८३ मंसिर १२, शनिबार १०:५९

आँखा फरफरायो भने कुनै घटना वा खबर प्राप्तिको संकेत हो भन्ने विश्वास नेपाली समाजमा प्रचलित छ । महिला र पुरुषमा आँखाको फरफराइलाई फरक–फरक रूपमा व्याख्या गर्ने चलन पनि छ । कतिपय समाजमा पुरुषको दाहिने आँखा फरफरायो भने शुभ समाचार र देब्रे आँखा फरफरायो भने अशुभ समाचार प्राप्त हुने विश्वास गरिन्छ । महिलाको हकमा भने देब्रे आँखा फरफराउनुलाई अशुभ संकेतका रूपमा लिने गरिन्छ ।

तर, आँखाको फरफराइलाई शुभ वा अशुभ घटनासँग जोड्ने विश्वासको कुनै वैज्ञानिक आधार छैन । वास्तवमा आँखाको परेला फरफराउनु मांसपेशीमा हुने अनैच्छिक ऐंठन हो । यस्तो फरफराइ केही सेकेन्डदेखि केही घण्टासम्म रहन सक्छ । कतिपय अवस्थामा हप्तौँसम्म पनि जारी रहन सक्छ ।

अधिकांश अवस्थामा तल्लो परेला फरफराउने गर्छ । तर, कतिपयमा माथिल्लो परेला पनि फरफराउन सक्छ । यसको कारण सधैँ एउटै हुँदैन । आँखा सुक्खा हुनु, प्रकाशप्रति संवेदनशीलता, तनाव, थकान, क्याफिन तथा अल्कोहलको बढी सेवन र एलर्जी यसका सम्भावित कारण हुन् ।

तनाव

तनाव हुँदा शरीरले विभिन्न किसिमका प्रतिक्रिया जनाउँछ । आँखा फरफराउनु पनि तनावसँग सम्बन्धित हुन सक्छ । त्यसैले तनाव कम गर्ने उपाय अपनाउँदा यस्तो समस्या घट्न सक्छ ।

थकान

तनाव तथा अन्य कारणले पर्याप्त निद्रा नपुग्दा आँखाको परेलामा ऐंठन हुन सक्छ । लामो समयसम्म थकित रहँदा पनि आँखा फरफराउने समस्या देखिन सक्छ ।

आँखामा पर्ने दबाब

लामो समयसम्म कम्प्युटर वा मोबाइलको स्क्रिन हेर्ने तथा आँखालाई बढी तनाव पर्ने गरी काम गर्दा परेला फरफराउन सक्छ । दृष्टिसम्बन्धी समस्या भएमा पनि आँखामा दबाब पर्न सक्छ ।

क्याफिन र अल्कोहल

चिया, कफी जस्ता पेय पदार्थमा पाइने क्याफिनको अत्यधिक सेवन तथा अल्कोहल बढी पिउँदा आँखा फरफराउने समस्या देखिन सक्छ ।

सुक्खा आँखा

उमेर बढ्दै जाँदा धेरै मानिसमा आँखा सुक्खा हुने समस्या देखिन्छ । लामो समय कम्प्युटर प्रयोग गर्ने, कन्ट्याक्ट लेन्स लगाउने तथा केही औषधि सेवन गर्ने व्यक्तिमा पनि यस्तो समस्या हुन सक्छ । एन्टिहिस्टामिन र एन्टिडिप्रेसन्ट औषधिको प्रयोगले समेत आँखा सुक्खा हुन सक्छ । सुक्खा आँखाका कारण परेला फरफराउन सक्छ ।

पोषकतत्त्वको असन्तुलन

म्याग्नेसियमजस्ता केही पोषकतत्त्वको कमीलाई पनि आँखा फरफराउनुसँग जोड्ने गरिन्छ । तर, पोषकतत्त्वको कमी र आँखाको फरफराइबीचको सम्बन्ध स्पष्ट रूपमा प्रमाणित भइसकेको छैन ।

एलर्जी

आँखामा एलर्जी हुँदा रातो हुने, सुन्निने र आँसु आउनेजस्ता समस्या देखिन सक्छन् । यस्तो अवस्थामा पनि परेला फरफराउन सक्छ ।

आँखा फरफराउने समस्या सामान्यतया गम्भीर हुँदैन र आफैँ निको हुन सक्छ । तर, लामो समयसम्म समस्या रहिरहेमा, आँखा रातो हुने वा सुन्निने, परेला पूरै बन्द हुने अथवा अनुहारका अन्य भागसमेत फरफराउन थालेमा नेत्र चिकित्सकसँग परामर्श लिनुपर्छ ।

 

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.