काठमाडौं । डोटीमा घरायसी विवादले उग्र रूप लिँदा छोराले दाउराले टाउकोमा प्रहार गर्दा बुबाको मृत्यु भएको छ। बोगटान फुड्सिल गाउँपालिका–६, गगुडाका ५० वर्षीय रणबहादुर चन्दको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा बुधबार बुबा रणबहादुरको टाउकोमा दाउराले प्रहार गरेका थिए। प्रहारबाट गम्भीर घाइते भएका रणबहादुरलाई उपचारका लागि दिपायलस्थित सुजङ अस्पताल लगिएको थियो।
सुजङ अस्पतालले थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजान सुझाव दिएपछि उनलाई डडेलधुरा लैजाने क्रममा शुक्रबार साँझ करिब ५ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको डडेलधुरा अस्पतालमा पोस्टमार्टम गरी शव परिवारलाई बुझाइसकिएको छ। घटनामा संलग्न रहेको आरोपमा छोरा विकासबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।