
विराटनगर । झापा र इलामको सीमा क्षेत्रमा पर्ने मेचीनगर नगरपालिका–१, भालुखोपस्थित जंगलबाट सशस्त्र प्रहरीले १९ हजार ४०० किलो (१९.४ टन) फर्सीको बियाँ बरामद गरेको छ।
शनिबार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाबाट सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको टोलीले जंगलमा बेवारिसे अवस्थामा लुकाएर राखिएको फर्सीको बियाँ बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार ४८५ बोरामा प्याक गरिएको फर्सीको बियाँसँगै दुई थान मोबाइल फोनसमेत फेला परेको छ।
बरामद सामग्री आवश्यक कानुनी कारबाहीका लागि मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
जंगलमा ठूलो परिमाणमा फर्सीको बियाँ लुकाएर राखिएको घटनाबारे यसको स्रोत, ओसारपसारको उद्देश्य र संलग्न व्यक्तिहरूको पहिचान गर्न थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

























