
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेताको जिम्मेवारी मुख्यमन्त्री चेतनारायण आचार्यले पाएका छन् । शनिबार बसेको एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले डाकेको बैठकमा दल नेता लिला गिरी भने सहभागी थिएनन् । गिरीको पूर्वनिर्धारित कार्यक्रम भएकोले रुपन्देही बाहिर भएकोले बैठकमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ ।
आफूलाई पाखा लगाएर दलका उपनेता आचार्य मुख्यमन्त्री बनेपछि गिरी असन्तुष्ट छन् । उनी यसअघि एमालेबाट दल नेता हुँदै मुख्यमन्त्री बनेका थिए । आचार्य मुख्यमन्त्री बनेपछि गिरीले गत साउन ७ गते संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । गिरीको राजीनामापछि पहिलोपटक बसेको संसदीय दलको बैठकले आचार्यलाई दल नेता चयन गरेको हो।
बैठकले उपनेतामा रुपन्देहीका भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। श्रेष्ठ एमाले लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष समेत हुन् ।
प्रमुख सचेतकमा रुपन्देहीका तुल्सी प्रसाद चौधरी र सचेतकमा रोल्पाकी यमुना रोका तामाङलाई चयन भएका छन् । चौधरी यसअघि पनि प्रमुख सचेतक थिए भने सचेतक रहेकी दाङकी रेखा शर्मालाई हटाएर तामाङलाई चयन गरिएको हो ।
लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ गरी ५६ जनाको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्य साउन ७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।























