
विराटनगर । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश संसदीय दलमा दलका नेता मात्रै छन् । १३ सांसद रहेको माओवादी केन्द्रले दलको नेताबाहेक अन्य जिम्मेवारी तोक्न सकेको छैन ।
संसदीय दलमा दलको नेतासँगै दलको उपनेता, प्रमुख सचेतक र सचेतक रहने प्रावधान छ । तर, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उपनेतासहित अन्य जिम्मेवारी तोक्न आलटाल गरेका हुन् । माओवादी केन्द्रको संसदीय दलको नेतामा आङ्बो १२ पुस २०७९ मा सर्वसम्मत चयन भएका थिए ।
प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका आङ्बो अघिल्लो कार्यकालमा पनि दलको नेता थिए । तत्कालीन नेकपा विभाजन हुँदा तत्कालीन दलका उपनेता टंक आङ्बुहाङ एमालेतर्फ लागेपछि १६ चैत २०७७ मा माओवादी केन्द्र संसदीय दलको नेतामा आङ्बो चयन भएका थिए । दोस्रो कार्यकालका लागि निर्वाचित भएका उनी सर्वसम्मत दलको नेता बने ।
डेढ वर्षसम्म दलको अन्य पदाधिकारी चयन नगरेका संसदीय दलका नेता आङ्बो आवश्यकताका आधारमा जिम्मेवारी तोकिने बताउँछन् । उनले चाँडै दलका पदाधिकारी तोक्ने जानकारी दिए । ‘आवश्यकता नभएर दलको नेता चयन नगरेको हो,’ उनले भने, ‘अब चाडै हुन्छ ।’
कोशी प्रदेशमा माओवादीबाहेक अन्य दलले संसदीय दलमा उपनेता, प्रमुख सचेतक र सचेतक तोकिसकेका छन् ।

























