सुनसरी र उदयपुरमा दुर्घटना, दुई जनाको मृत्यु

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार ०७:०४
इनरुवामा ट्रकले ठक्कर दिएको मोटरसाइकल र दुर्घटनास्थलमा भेला भएका स्थानीय ।

विराटनगर । सुनसरी र उदयपुरमा बुधबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनसरीको इनरुवा र उदयपुरको चौदण्डीगढीमा दुर्घटना भएको हो ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत इनरुवा नगरपालिका–४ मा ना ३ ख १४५ नम्बरको ट्रकले को २२ प ४०८० नम्बरको मोटरसाइकललाई राति ८ः१० बजेतिर ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सखुवागाछीबाट लौकहीतर्फ जाँदै गरेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा चालक भोक्राहानरसिंह गाउँपालिका–२ का अन्दाजी ५२ वर्षीय रमानन्द मेहताको मृत्यु भएको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनालगत्तै ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ का ५९ वर्षीय केदारसिंह वाईबालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

ट्रकको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले लोकमार्ग अवरुद्ध पारेका थिए । करिब १ सय ५० जनाको संख्यामा भेला भएका स्थानीयले अवरोध गरेको सडक प्रहरीले राति १० बजेतिर खुलाएको थियो ।

त्यस्तै, मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको चौदण्डीगढी नगरपालिका– ३ हात्तीसारमा को २ त ६३४९ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । फलाम लोड गरेर रामपुरबाट भागलपुरतर्फ जाँदै गरेको ट्याक्टर दिउँसो १ः२० बजेतिर दुर्घटनामा पर्दा दुई जना सहचालक घाइते भएका छन् ।

एसपी पौडेलका अनुसार दुर्घटनामा ट्याक्टर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३० वर्षीय तिलकबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टरका सहचालकहरु इटहरी–१५ का २२ वर्षीय सञ्जय ऋषिदेव र २२ वर्षीय प्रल्हाद ऋषिदेव घाइते भएका छन् । उनीहरुको नगर अस्पताल बेलटारमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी फलाम लोड गरिएको ट्याक्टर घुमाउरो सडकका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.