
काठमाडौं । झापाको दमकमा भ्यू टावर नभइ ट्रेड सेन्टर बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भ्यू टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताएका हुन् ।
‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यू टावर होइन । भ्यू टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेक्स हो ।’
साढे सात रोपनीमा कम्प्लेक्स बनेको र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘हरेक तलामा विभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटल, आइटी पार्क बन्न सक्छन् ।’ उनले फेरि भने,‘दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ ।’
कम्प्लेक्सको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको उनले बताए । ४५ मिटरसम्म जग रहेको उल्लेख गर्दै उनले सयौं वर्षसम्म प्रतिफल दिइरहने बताए ।

























