कोशीमा ५ मन्त्रालय लिने गरी कांग्रेसको भागबन्डा, मुख्यमन्त्री मन्त्रालयको संख्या नबढाउने पक्षमा

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ७, शुक्रबार ०८:३९
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापा ।

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशमा ५ वटा मन्त्रालय लिने गरी भागबन्डा गरेको छ । यद्यपि, भागबन्डाको विषयलाई कांग्रेसले औपचारिक हिसाबबाट सार्वजनिक गरेको छैन ।

कांग्रेसलाई ५ वटा दिँदा कोशीमा विभाजन गरेर मन्त्रालयको संख्या बढाउनुपर्ने हुन्छ । तर, मुख्यमन्त्री हिक्मतकुमार कार्की मन्त्रालयको संख्या नबढाउने पक्षमा छन् । कांग्रेसले यसअघि सत्तारुढ नेकपा (एमाले)सँग ४ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने सहमति गरेको थियो ।

एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीको नेतृत्वमा कोशी सरकार छ । कांग्रेसले एमाले नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरेको थियो ।

तर, आन्तरिक किचलोमा फसेको कांग्रेस अहिलेसम्म सरकारमा सहभागी भएको छैन । आन्तरिक भाडबन्डा मिलाउने क्रममा भने ५ वटा मन्त्रालय बाँडफाँट गरिएको नेताहरु बताउँछन् ।

नेताहरुका अनुसार प्रदेश सरकारको सहभागिताको विषयमा पार्टीभित्रको आन्तरिक भागबन्डा मिलेको छ । यसअघि ४ वटा मन्त्रालय पाउने भनिएको कांग्रेसले आन्तरिक भागबन्डा गर्दा २, २ र १ बनाएको छ ।

भागबन्डा गरेर पार्टी सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहका लागि २–२ र कृष्णप्रसाद सिटौला समूहका लागि एउटा मन्त्रालय छुट्याइएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति देउवाले विभाजन गरेर प्रदेशमा मन्त्रालयको संख्या बढाउने सहमति गरेको बताइन्छ । उक्त सहमतिपछि कांग्रेसले ५ वटा मन्त्रालयमा भागबन्डा गरेको हो ।

कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले पनि आन्तरिक छलफलपछि सरकारमा सहभागिताको विषय टुंगो लागेको बताए । ‘औपचारिक जानकारी त आएको छैन । तर, अनौपचारिक जानकारी आएको छ । औपचारिक जानकारी आएपछि सरकारमा कांग्रेस सहभागी हुन्छ,’ उनले भने ।

कांग्रेसले मन्त्रालयको भागबन्डा गरेर आफूले ५ वटा पाउनुपर्ने स्पष्ट संकेत गरिरहँदा मुख्यमन्त्री कार्की भने मन्त्रालय नफुटाउने पक्षमा देखिएका छन् । कांग्रेसकै लागि मन्त्रालय विभाजन गर्न नहुने उनको स्पष्ट अडान छ । कोशीमा ९ वटा मन्त्रालय छन् ।

कांग्रेसले विभाजन गर्ने योजनासहित ५ वटा मन्त्रालय भाग गरेको विषयमा कार्कीले भने, ‘९ वटै लिए पनि भयो नि ।’ उनले अहिले मन्त्रालय विभाजन गर्न नहुने बताए ।

‘सबै हिसाबले मन्त्रालय विभाजन गर्न उपयुक्त देखिँदैन । अहिले मन्त्रालय फुटदैन् । त्यो अहिले सम्भव छैन,’ कार्कीले भने, ‘माथि (केन्द्र)बाट प्रहरी समायोजन र अरु अधिकार दियो भने हुनसक्छ । त्यसका लागि (समायोजन) पनि २–४ महिना समय लाग्ला । तत्काल मन्त्रालय विभाजनको कुनै सम्भावना छैन ।’ उनले एमालेसँग भएको पछिल्लो सहमति अनुसार नै कांग्रेस सरकारमा सहभागी हुने बताए ।

कांग्रेस र एमालेबीच गत साउन १२ गते कोशीका ४–४ मन्त्रालय भागबन्डा गर्ने सहमति भएको थियो । तर, नेपाली कांग्रेसभित्र डाक्टर शेखर कोइराला पक्षले दुईवटा मन्त्रालय दाबी गरेपछि कांग्रेस सरकारमा सहभागी भएको छैन ।

मन्त्रालय विभाजन गरेर भए पनि आफूलाई ५ वटा मन्त्रालय दिनुपर्ने पक्षमा कांग्रेस छ । चौतर्फी विरोध भइरहँदा पनि कांग्रेस मन्त्रालय फुटाउन जोडतोडले लागेको देखिन्छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले शीर्ष नेताबीच कोशी प्रदेशमा ११ वटा मन्त्रालय बनाउने सहमति भएको जानकारी दिए । केन्द्रीय समितिको बैठकपछि प्रदेशको विषयमा आधिकारिक निर्णय आउने उनको भनाइ छ ।

एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशमा मन्त्रालयको संख्या बढाउन आवश्यक नरहेको बताउँछन् । ‘कांग्रेस– एमाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको हो,’ उनले भने, ‘मन्त्रालय थप गर्न एमाले तयार हुँदैन ।’

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.