
विराटनगर । धनकुटाको साँगुरीगढीमा शुक्रबार राति जिप दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने नाबालिकासहित ३ जना घाइते भएका छन् ।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । साँगुरीगढी गाउँपालिका–६ मुक्तेनस्थित नाम्जे–मुक्तेन भित्री सडकखण्डमा को २ च ११०५ नम्बरको जिप राति ९ः१५ बजेतिर दुर्घटनामा परेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । उनका अनुसार मुक्तेनबाट नाम्जेतर्फ आउँदै गरेको जिप आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ७० फिटजति तल खसेको थियो ।
दुर्घटनामा परेर जिपमा सवार साँगुरीगढी–६ का ३८ वर्षीय नीरबहादुर मगरको घटनास्थलमै मृत्यु भएको एसपी पौडेलले बताए । उनका अनुसार दुर्घटनामा साँगुरीगढी–६ का ३४ वर्षीय राजकुमार मगर, ३९ वर्षीया मीना मगर र मीनाकी छोरी ६ वर्षीया श्रेया मगर घाइते भएका छन् ।
घाइतेमध्ये राजकुमार र मीनाको अवस्था गम्भीर छ । नाबालिकाको अवस्था सामान्य छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै प्रहरीले जिप चालक उदयपुरको उदयपुरगढी गाउँपालिका–७ का २४ वर्षीय अमिर मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । चालक मगर सकुशल छन् । जिप भने क्षतिग्रस्त बनेको छ । कच्ची सडकका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।























