
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दल नेपाली कांग्रेसलाई प्रदेशमा मन्त्रालय नफुटाउने स्पष्ट सन्देश दिएका छन् ।
काठमाडौं पुगेर आइतबार विराटनगर फर्किएका उनले मन्त्रालयको संख्या नबढाइकन सरकार विस्तार गरिने बताएका हुन् । सत्तारुढ कांग्रेसले पार्टीको आन्तरिक विवाद मिलाउने क्रममा मन्त्रालय थपेर भएपनि आफूलाई भाग पुर्याउनुपर्नेमा जोड दिइरहेको छ । नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता कार्की नेतृत्वकै सरकारमा सहभागी हुने निर्णय गरिसकेको कांग्रेस आन्तरिक भागबन्डा मिलाउन नसक्दा अहिलेसम्म सरकारमा गएको छैन ।
कांग्रेसले मन्त्रालय विभाजनका लागि जोडबल गरिरहेका बेला मुख्यमन्त्री कार्कीले भने विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोशीमा मन्त्रालय ‘फुट्दैन’ भनेर स्पष्ट पारेका हुन् । उनी बिहीबार काठमाडौं गएका थिए । सरकार विस्तारका लागि मन्त्रालय फुटाउनु उपयुक्त नहुने उनको धारणा छ ।
शीर्ष नेतृत्व तहमा मन्त्रालय नफुटाउने विषयमा सहमति भएको कार्की बताउँछन् । कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रालय नफुटाउने विषयमा कुराकानी भएको उनले बताए । कार्कीले प्रदेशमा कांग्रेसका नेताहरुसँग पनि मन्त्रालय नफुटाउने विषयमा कुराकानी भएको बताए ।
‘हामी मन्त्रालयको संख्या बढाउँदैनौं । अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय लिन्छ,’ कार्की भन्छन्,‘ एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् विस्तार हुन्छ । कांग्रेसले नाम दिने बित्तिकै हुन्छ ।’ भदौ १४ गते प्रदेशसभा बैठक बस्दैछ । त्यसअघि नै सरकार विस्तार गर्ने तयारी छ । मन्त्रालय विभाजन नगरे पनि राज्यमन्त्री भने केही थप हुनसक्ने संकेत उनले गरेका छन् ।
प्रदेशमा हाल ९ वटा मन्त्रालय छन् । ती मध्ये एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय लिने सहमति साउन १२ गते भएको थियो । तर, आन्तरिक भागबन्डा मिलाउनका लागि मन्त्रालय फुटाउनुपर्ने पक्षमा उभिएको कांग्रेसले मन्त्रीको नाम नदिँदा सरकार विस्तार अन्योलमा परेको छ ।
कांग्रेसले २ वटा मन्त्रालय थप गर्ने प्रस्ताव गरेको थियो । तर, त्यसलाई एमालेले अस्वीकार गरेको छ । जसका कारण सरकार विस्तार रोकिएको हो ।
कांग्रेस र एमालेबीच गठबन्धन भएको २ महिना हुन लागेको छ । नयाँ गठबन्धनका लागि मार्ग प्रशस्त गर्न नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले कोशी प्रदेशमा सरकार छाडेको पनि १ महिना हुन लाग्यो ।

























