
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा बर्सेनि राधाकृष्ण रथयात्रा निकालिन्छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथ निकाल्ने गरिएको हो ।
यसवर्ष भोलि अर्थात मंगलबार रथयात्रा गरिँदै छ । विक्रम संवत १९८८ सालदेखि ‘खट’ यात्राबाट प्रारम्भ भएको रथयात्रा २०२५ सालबाट रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो ।

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकाल्ने ऐतिहासिक राधाकृष्ण रथयात्रा मंगलबार निस्कँदै छ । राधाकृष्णको युगल जोडीसहितको रथ विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरबाट निस्कने छ ।
राधाकृष्ण रथयात्रा समारोह समितिले ९३ औं संस्करणको रथयात्राको तयारी सकेको छ । यसपटक विगतभन्दा फरक र अझ भव्य रुपमा रथयात्रा निकाल्ने तयारी भइरहेको छ । भक्तजनहरुलाई पूजाआजा गर्न सहज हुने गरी ४३ स्थानमा राधाकृष्णको रथलाई विश्राम गराइने छ । रथयात्रामा विगतको जस्तो व्यावसायिक प्रचारप्रसार गर्न प्रतिबन्ध लगाइएको छ ।

सुनसरी, झापा, मोरङका विभिन्न स्थानमा पनि रथयात्रा निकाल्न थालेपछि विराटनगरको रथयात्रामा श्रद्धालु भक्तजनको उपस्थिति केही कमी हुन थालेको हो । तर, पूर्वी नेपालसहित सीमावर्ती भारतको विहार र पश्चिमबंगलाबाट पनि उल्लेखिय संख्यामा भक्तजन आउने गरेका छन् ।

पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ । रथको अग्रभागबाट दायाँ र बायाँ फैलिएका ७५ फिट लम्बाइका लठ्ठा (डोरी) रहने छन् ।

मंगलबार दिउँसो साढे ३ बजे मन्दिरदेखि सुरु हुने रथयात्राले नगरको ९ किलोमिटर यात्रा तय गर्ने छ । राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्रा तीनपैन, मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ ।
रथयात्राका क्रममा कुनै अप्रिय घटना हुन नदिन र सुरक्षाका लागि ठूलो संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गर्ने तयारी छ । हिन्दु धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण गराउने यो रथयात्राको अवलोकन गर्न लाखौं सर्वसाधारण कामकाज छोडेर आउँछन् ।

रथयात्रा विराटनगरकै एउटा प्रमुख उत्सव भएको र यसमा लाखौं श्रद्धालुको चासो रहेको बताइएको छ । रथयात्रामार्फत यहाँको धार्मिक पर्यटन प्रबद्र्धन गर्न जरूरी छ । छिमेकी मुलुकलाई रथयात्राको महत्व बुझाउन सक्नुपर्ने हुन्छ ।

विराटनगरको प्रतिष्ठासँग जोडिएको ऐतिहासिक रथयात्राको धार्मिक महत्वका बारेमा यसो भन्छन् सरोकारवाला :
१, विराटनगरको विशाल रथयात्रा निरन्तर रुपमा ९३ औं संस्करणसम्म आइपुगेको छ । विगतको भन्दा भव्य रुपमा गर्न लागेका छौं । रथयात्रा १ सय वर्षको हाराहारीमा पुगेको छ । यो भनेको धर्मप्रतिको आस्था र विश्वास नै हो । यात्रामा यहाँका हिन्दुसहित अन्य समुदाय र विशेष वर्गहरु पनि एकदमै प्रफुल्लित हुँदै सहभागिता जनाउँछन् ।
सायद यो भगवानको कृपा नै मान्नुपर्छ । सबैलाई जोडेर र मिलाएर एकै पथमा हिँड्नुपर्ने सन्देश कृष्ण भगवानको छ । त्यसैको आधारमा विराटनगरमा सबै वर्गका मानिसहरु रथयात्रामा सहभागी हुनु भएको हो । ५ लाख बढी भक्तजनको सहभागिता हुने अपेक्षा गरेका छौं ।
जो जसरी यस पुनित कार्यमा लाग्नु भएको र आज ९३ औं संस्करणसम्म आइपुग्दा कुनै पनि किसिमका अप्रिय घटना वा विभेदकारी घटना भएका छैनन् । यो सबै भगवानको कृपा नै होला । रथयात्राप्रति सबैको आस्था र विश्वास ठूलो रहेकाले नै यहाँ मात्रै नभई भारतबाट पनि ठूलो संख्या भक्तजनहरु आउनु हुन्छ । आस्था र विश्वासले गर्दा यत्ति ठूलो रथयात्रा देखिन्छ कि त्यसको व्याख्या गर्ने ठाउँ नै छैन ।
रथयात्रको अर्को महत्व चाहिँ कृष्ण जन्माष्टमीको राति १२ बजे भगवान कृष्णको यस धर्तीमा जन्म हुन्छ । त्यसको उत्सवको रुपमा भोलिपल्ट रथयात्रा निकाल्छौं । संसारभरि धेरै ठाउँहरुमा साना, ठूला रथयात्रा हुने गरेका छन् ।
विराटनगरको रथयात्रा भारतको जगनाथपुरीको रथयात्रापछिको दोस्रो ठूलो हो । लाखौं भक्तजनहरुको सहभागिता हुने गरेको छ । हामी सबैको आस्था रहेकाले नै रथयात्रा यो वर्षसम्म आइपुग्दा भव्य र सभ्य भइरहेको छ । भगवान राधाकृष्ण सवार रथयात्राको दर्शन गरेमा वा रथको डोरी छोएमा मात्रै पनि मनोकांक्षा पूरा हुने जस्ता विश्वास रहँदै आएको छ ।
यात्रामा सहभागी सबैले डोरी छुन नपाएको गुनासो धेरै आउँछ । सबैले छुन पाउनुहोस् भनेर व्यवस्था मिलाएर पनि लाखौं मान्छेलाई समाल्न सहज नहुने रहेनछ । तर, पनि रथयात्रामा आउनु भएका अधिकांशले डोरी छुनु नै हुन्छ । सुरक्षा दृष्टिमा पनि सबैले छुन नसक्नु भएको होला । रथयात्रामा महिला र पुरुषको अलग–अलग डोरी राखिएको हुँदा आ–आफ्नो लाइनमा बसेर डोरी छुने गरेमा सबैलाई सहज हुने थियो ।

कैलाश रेग्मी
अध्यक्ष, श्रीराधाकृष्ण मन्दिर राथयात्रा समिति
२, विराटनगरको एउटा ऐतिहासिक राथयात्रा हो । ९३ वर्ष अघिदेखि निरन्तर रुपमा रथयात्रा हुँदै आएको छ । सुरुवातमा रथयात्रा नभई खट यात्रा, वयलगाडीमा राखेर यात्रा हुने गरेको थियो । यसलाई परिवर्तन गर्दै रथयात्रा हुन थालेको इतिहास छ । रथको दुई छेउमध्ये एकातर्फ महिला र अर्कोतर्फ पुरुषले रथको डोरी तानेर नगर परिक्रममा गर्ने चलन रहँदै आएको छ । भारतको जगनाथपुरीपछिको दोस्रो ठूलो रथयात्रा विराटनगरको हो ।
मैले थाहा पाएदेखि नै यहाँ भव्य रुपमा रथयात्रा हुँदै आएको छ । म सानो छँदा नै रथयात्राको दिन कति खेर रथ निस्कन्छ भनेर उत्सुकतामा रहन्थ्यौं । विगतमा रथयात्रा भव्य भए पनि भक्तजनहरुको उपस्थिति अहिलेको जस्तो हुँदैन न थियो । पहिलो झाँकी पनि कम हुन्थ्यो । अहिले झाँकी र दर्शन गर्न आउने भक्तजनको संख्या अत्यधिक बढेको छ ।
विगतमा विराटनगर आसपास र भारतको फारबिसगञ्ज, जोगबनीका मात्रै आउने गर्थे भने अहिले बिहार, पश्चिमबंगालका धेरै स्थानबाट रथयात्रा दर्शन गर्न र सहभागी हुन आउने गरेको पाएका छौं । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।
यसको धार्मिक, सामाजिक र साम्प्रदायिक सद्भाव छ । हिन्दु धर्मको मात्र भनिन्थ्यो, तर यो रथयात्रामा सबै धर्मावलम्बी, जातजाति र भाषाभाषीको सहभागिता रहने गरेकाले साम्प्रदायिक सद्भाव कायम राख्न रथयात्राले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । मनोकामना पूरा हुने विश्वासमा रथको डोरी तान्न सबै उमेर समूहकाहरु तँछाडमछाड गर्छन् ।

नन्दकिशोर राठी
उपाध्यक्ष, श्रीराधाकृष्ण मन्दिर रथयात्रा समिति
३, रथयात्रा सुरु हुनु अघि जुला महोत्सव (जुलन) हुन्छ । यस महोत्सवमा भगवानको दर्शन गर्न आउनेको संख्या विगतको भन्दा बढेको पाएको छु । हामी हिन्दु सनातन धर्मावलम्बीका लागि यो ठूलो पर्व हो । मंगलबार हुन लागेको रथयात्रामा सहभागी हुन सबै जनामा अनुरोध गर्दछु ।

गोपाल पौडेल
पुजारी, राधाकृष्ण मन्दिर
४, रथयात्रा विराटनगरको मात्र नभई नेपालका लागि एउटा गौरवको कुरो हो । धर्मप्रति हामी सबैको आस्था छ । धर्मले एउटा संस्कार सिकाउँछ । सबैको आस्था र विश्वास भएकै कारण बच्चादेखि बुढासम्मले दर्शन गर्न आउने गरेका छन् । यो वा त्यो, कसैले रथयात्रा छुन नहुने भन्ने छैन । सबै मानिस हुन् । सबैले रथयात्रामा सहभागी हुन र भगवानको दर्शन गर्न पाउने छन् ।
रथयात्रा ऐतिहासिक प्रतिष्ठा हो । जसले विराटनगरलाई विश्वभर चिनाउने मात्रै नभई सबैसँग सम्बन्ध राख्न मद्दत गरेको छ । रथयात्राको दर्शन गर्नका लागि सबै धर्म, जातजातिका मानिसहरु उपस्थित हुने हुँदा यसको अलगै महत्व रहँदै आएको छ । निजी क्षेत्रलगायत विभिन्न संघसंस्थाहरुले रथयात्रालाई भव्य बनाउने काम गरिरहेका छन् ।
प्रदेश र महानगरको प्रतिष्ठाका साथै गहना भएकाले पनि रथयात्रालाई धार्मिक पर्यटनसँग जोडेर स्वदेश तथा विदेशमा यसको महत्वबारे प्रचारप्रसार गर्न सके राम्रो हुनसक्थ्यो । भारतको जगनाथपुरीपछि दोस्रो ठूलो रथयात्रा भएकाले महत्वको वर्णन गर्ने ठाउँ नै छैन । विगतमा विराटनगरमा मात्रै रथयात्रा हुने गर्थो ।
पछिल्लो समय यहाँ रथयात्रा देखेपछि कोशी प्रदेशमा मात्रै नभएर अन्य प्रदेशमा समेत रथयात्रा निकाल्न थालिएको छ । अन्य स्थानमा रथयात्रा निकाले पनि विराटनगरको रथयात्राको महत्व छुट्टै भएकाले पनि स्वदेश तथा विदेशबाट दर्शन आउने महानुभावको संख्यामा कमी नआई प्रत्येक वर्ष बढेको अनुभूति भएको छ । त्यसैले सरकार र निजी क्षेत्र मिलेर अझ यसलाई व्यापक रुपमा अघि बढाउन जरुरी छ ।

राजेन्द्र राउत
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, कोशी
कडा सुरक्षा
५, रथयात्रालाई शान्त, सभ्य, सुरक्षित र भव्य बनाउने काममा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दछु । भीडभाड निकै हुने भएकाले रथयात्रा आसपास मात्रै नभई रथयात्रामा सहभागी हुन आउने र जानेका लागि सुरक्षा योजना बनाएर काम थालीसकेका छौं । सबै जनालाई ढुक्क भएर रथयात्रामा सहभागी हुन अनुरोध गर्दछु ।
सुरक्षा योजनाका साथ ठूलो संख्यामा पोसाक र सादा पोसाकमा प्रहरी परिचालित भइसकेका छन् । उनीहरुले कुनै पनि किसिमका आपराधिक गतिविधि हुन नदिन सक्रियताका साथ काम गर्ने छन् । भीडभाडमा चोरी, लुटपाट, पकेटमारजस्ता कार्य हुन नदिनका निम्ति ठूलो संख्या प्रहरी परिचालन गरेका छौं । तर, पनि सम्पूर्ण महानुभावलाई यस्तो भीडभाडमा आउँदा बहुमूल्य गरगहना नलगाउन, बहुमूल्य वस्तु नल्याउन र स्वयं आफू पनि सचेत, चनाखो हुन आग्रह गर्दछु ।
कहीँ कतै केही भइहाल्यो भने तत्कालै उद्दार गर्नका लागि ‘रिजर्भ’ टोली रहने छ । कहीँ कतै कुनै किसिमका अपराधिक गतिविधि हुन लाग्यो वा भइहाल्यो भने तत्कालै नजिकैको प्रहरीलाई खबर गर्न अनुरोध गर्दछु । नेपाल पुलिसका साथै सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली पनि उत्तिकै संख्यामा सुरक्षाको काममा हुन्छन् । तीनवटै सुरक्षा निकायले रथयात्रालाई सुरक्षित र भयरहित बनाउने काम गरिरहेका छौं । सबै ठाउँमा सुरक्षाका लागि सीसी क्यामेरा जडान भएकाले क्यामेरामार्फत पनि निगरानी बढाइरहेका हुन्छौं ।
कुनै अपराधिक र उच्छृङ्खल गतिविधि भएमा तत्काल नियन्त्रणमा लिन्छौं । शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्छौं । रथयात्रालाई भव्य, सुरक्षित र मर्यादित बनाउन सुरक्षा निकायबाट कुनै कसर बाँकी राखिने छैन । रथयात्रालाई सफल बनाएर विराटनगरको छवि र प्रतिष्ठालाई थप उच्च बनाउने दायित्व सबैको हो ।

एसपी, नवराज कार्की
प्रमुख, जिल्ला प्रहरी कार्यालय मोरङ























