
विराटनगर । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा साउनमा आएको बाढीमा परेकाहरुको उद्दार गरेका १३ जना प्रहरी पुरस्कृत भएका छन् ।
थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षकसहित १३ जनालाई मंगलबार जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेमा प्रहरी निरीक्षक लक्ष्मण गिरी, प्रहरी सहायक निरीक्षक खेमराज खतिवडा, प्रहरी वरिष्ठ हवल्दार दीपककुमार कटुवालसहित रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार पुरस्कृत हुनेमा प्रहरी निरीक्षक एक, प्रहरी सहायक निरीक्षक दुई, प्रहरी वरिष्ठ हवल्दार एक, प्रहरी हवल्दार तीन, प्रहरी सहायक हवल्दार दुई र चार जना प्रहरी जवान छन् ।
प्राकृतिक विपत्तिमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय रूपमा निर्वाह गरेकाले नेपाल प्रहरीको अभिलेख रहने गरी पुरस्कृत गरिएको डिएसपी घिमिरेले बताए ।
थामेमा हिमपहिरोले गेग्रान र ढुंगासहित गएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो भने ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको थियो ।
फुटेको हिमताल थामे बजारबाट करिब ९ किलोमिटर टाढा छ ।























