
विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित विराट हेल्थ कलेजका चालकको करेन्ट लागेर मंगलबार मृत्यु भएको छ ।
मोरङको बूढीगंगा गाउँपालिका–३ गंगा चोक घर भएका ४२ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । विराट हेल्थ कलेजको गाडी चलाउँदै आएका कार्कीले विराटनगर–३ खार्जी चोकमा विराट श्री होस्टल सञ्चालनको तयारी गरेका थिए । होस्टलको उद्घाटन बुधबार थियो ।
डीएसपी बस्नेतका अनुसार होस्टलको ३ तलामाथि ‘वेल्डिङ’का लागि फलामको ‘पाइप’ तान्ने क्रममा बिहान ११ः४५ बजेतिर कार्कीलाई करेन्ट लागेको थियो । ‘पाइप’ले विद्युतको ‘हाइटेन्सन’ लाइनको तार छुँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएको जानकारी बस्नेतले दिए ।
कार्कीलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दिउँसो १ः३५ बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कार्कीले सञ्चालन गर्न लागेको होस्टलका सहयोगी पाँचथरको हिलिहाङ गाउँपालिका–६ का २९ वर्षीय बलबहादुर लिम्बू करेन्ट लागेर सामान्य घाइते भएका छन् । उनको उपचार भइरहेको छ । डीएसपी बस्नेतले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।























