
काठमाडौं । नेपाली सेनाका उपरथी अशोकराज सिग्देल क्षेत्री नेपालको ४५ औं प्रधान सेनापति नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई नयाँ प्रधान सेनापति नियुक्त गरेका हुन् ।
उनको कार्यकाल भदौ २४ गतेबाट सुरु हुने छ । सेनाको परम्परा अनुसार बहालवाला प्रधान सेनापति अवकाशमा जानुभन्दा १ महिनअघि नै बिदा बस्ने चलन छ । प्रधान सेनापति प्रभुराम शर्मा गत साउन २४ गतेदेखि बिदामा बसेर सिग्देललाई बरबुझारथ गरेका थिए ।
सिग्देलले गत साउन १४ गतेबाट कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी पाएका थिए । सरकारको सिफारिसमा उनलाई राष्ट्रपति पौडेलले सिग्देललाई कायममुकायमको जिम्मेवारी दिएका हुन् ।
उमेर विवादको छानबिनमा नपरेका भए उपरथी ताराध्वज पाण्डे प्रधान सेनापति हुने लाइनमा थिए । तर, छानबिनमा परेपनि उनले राजीनामा दिएसँगै सेनापतिको रोलक्रममा सिग्देल आएका हुन् ।
भैरहवाका सिग्देल ३७ वर्षदेखि सैनिक सेवामा छन् । उनले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर सकेका छन् ।
कोरोना महामारी चरमोत्कर्षमा पुग्दा सिग्देल कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको कमाण्डर थिए । उनी यसअघि युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियालगायतका देशमा यूएन मिसनमा गइसकेका छन् ।
























