
विराटनगर । विराटनगरमा विराट राजाको दरबार क्षेत्रमा रहेको पोखरीमा डुबेर बुधबार दिउँसो १ जना बालकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१८ स्थित विराट पोखरीमा डुबेर १६ वर्षीय करण मण्डलको मृत्यु भएको हो । प्रहरीका अनुसार विराटनगर–१८ घर भएका उनी पौडी खेल्ने क्रममा दिउँसो २ बजेतिर पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
खोजतलास गर्ने क्रममा दिउँसो ४ः४५ बजेतिर शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल ल्याएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।
धन खेतमा भेटियो वृद्धको शव
मोरङको पथरीशनिश्चरे नगरपालिका–४ नयाँ सोमबारेस्थित धानखेतमा वृद्ध पुरुषको शव फेला परेको छ । ७४ वर्षीय डिल्लीप्रसाद लिम्बू आफ्नै घर पछाडि रहेको धान खेतमा बिहान ७ बजेतिर मृत फेला परेका हुन् ।
शवलाई पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगिएको थियो । लिम्बूको मृत्युको कारण खुलेको छैन । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।























