शिक्षादीपको कविता प्रतियोगितामा मानसी प्रथम

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १३, बिहीबार १९:१०

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मानसी पोखरेल प्रथम भएकी छन् ।

विश्व आणविक परीक्षणविरुद्धको दिवसका अवसरमा ‘शान्तिका लागि निःशस्त्रीकरण’ शीर्षकमा आयोजित प्रतियोगितामा ८० जना प्रतिस्पर्धीलाई पछि पार्दै मानसी प्रथम भएकी हुन् । कलेजको सभाहलमा भएको कविता प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूले कविता वाचन गरेका थिए ।

संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१० देखि अगष्ट २९ तारिखलाई आणविक हतियारविरुद्ध दिवसका रुपमा मनाउन थालिएको हो ।

विश्वमा बढ्दै गएको आणविक हतियारको होडबाजीले मानव सभ्यतामाथि नै चुनौती थपिएको भन्दै कलेजले विद्यार्थी र अभिभावकमा दिवसको महत्व र उद्देश्यबारे जानकारी दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । कलेजका २५ सय विद्यार्थीहरूमध्येबाट पहिलो चरणको छनोटबाट ८० जनालाई कविता प्रतियोगितामा सहभागी गराइएको थियो ।

साहित्यकार चूडाामणि नेपाल ‘अकिञ्चन’, कवि एवं पत्रकार मीनकुमार नवोदित र डा. कमलकिशोर श्रीवास्तवले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।तीनजनाको निर्णायक समितिले पुरस्कृतहरूको नामावली सार्वजनिक गरेको थियो ।

कक्षा ११ विज्ञान संकायकी छात्रा मानसी प्रथम हुँदा इशान पौडेल, सिरिन भट्टराई र प्रतीक भट्टराई द्वितीय भए ।

त्यस्तै सभ्यता रायमाझी, रितिक्षा भट्टराई, अपेक्षा राई र साम्राज्ञी बस्नेत तृतीय हुँदा अफ्रिन खातुन, अमित पटेल, रोशनकुमार मण्डल, रमण मण्डल, मर्यादा भट्ट, प्रगति अधिकारी, सशन दाहाल र समीर साहले सान्त्वना पुरस्कार प्राप्त गरे ।

यसैगरी, कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कविताका माध्यमबाट आफ्ना भावनाहरू पोख्न मिल्ने भएकाले पनि थकाहट हटाएर आनन्दपन ल्याउन प्रतियोगिताको आयोजना गरेको सुनाए । उनले कलेजले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि उच्च प्राथमिकता दिँदै आएको दाबी गरे ।

प्रतियोगितमाम विजेता विद्यार्थीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का, निर्णायकहरू नवोदित, अकिञ्चन, श्रीवास्तव, कलेजका विज्ञान संकायका संयोजक नवीन राय, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, कलेजका निर्देशक भूपेन्द्र दाहाल र रामचन्द्र अधिकारीलगायतले नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.