विराटनगरमा सफारी चालकद्वारा कोशी लोकमार्ग अवरुद्ध, सवारी आवागमन प्रभावित (फोटो फिचर)

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार १२:४२

विराटनगर । विराटनगरमा सीटी सफारी चालकले कोशी लोकमार्ग अवरुद्ध बनाएका छन् ।

यातायात सञ्चालनमा अवरोध गर्दै उनीहरुले आज मध्यान्ह १२ बजेदेखि राजमार्ग बन्द गराउँदा सवारी आवागमन प्रभावित बनेको छ । विराटनगरको बरगाछीको ६ लेन सडकमा सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शन गर्न थालिएपछि सवारीसाधन सञ्चालन हुन सकिरहेको छैन ।

सफारी चालकको बन्दका कारण बिरामी बोकेका एम्बुलेन्ससमेत सञ्चालनमा समस्या भइरहेको छ । अन्य कुनै पनि सवारीसाधन चल्न सकिरहेका छैनन् । त्यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका थिए ।

महानगरको गेटअगाडि सफारी तेस्र्याएर प्रदर्शन गरिएको सफारी चालक अनिल रायले बताए । विराटनगरका मुख्य राजमार्गमा सफारी सञ्चालनमा निषेध गरिएपछि चालकहरु आन्दोलित भएको जानकारी उनले दिए ।

विराटनगर महानगरपालिका एवं कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा ट्राफिक प्रहरीले रानी नाकादेखि विराटनगरको ढाटसम्मको राजमार्गमा सफारी सञ्चालन गर्न बिहीबारदेखि रोक लगाएको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् ।

उनीहरुले राजमार्गमा सफारी गुड्न पाउनुपर्ने माग राखेका छन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने आवाज उनीहरुले उठाएका छन् ।

आन्दोलनरत सफारी चालकले विराटनगरका मेयर नागेश कोइराला र प्रदेश सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । उनीहरुले ऋण गरेर किनेको सफारीलाई सडकमा गुड्न प्रतिबन्ध लगाएर गरिबमारा काम गरिएको गुनासो गरे । तत्काल निर्णय नसच्याए आन्दोलन थप चर्काउने तयारी रहेको चालक रायले बताए ।

धेरै संख्यामा रहेका सफारीका कारण विराटनगरको सवारी आवागमन अस्तव्यस्त बन्दै गएको छ । जथाभावी सफारी सञ्चालन गरिँदा र सफारीले नियम नमान्दा दुर्घटना बढेको सरकारी निकायको विश्लेषण छ । ट्राफिक प्रहरीका अनुसार विराटनगरमा अहिले ८ हजारभन्दा बढी सीटी सफारी छन् ।

तर, विराटनगर महानगरपालिकामा भने करिब २ हजारको संख्यामा मात्रै दर्ता छन् । मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर सुमन न्यौपाने सीटी सफारी सञ्चालनमा विशेष योजनासहित नयाँ नियम लागू गरिएको बताउँछन् । उनका अनुसार विराटनगरभित्रको कोशी राजमार्गमा सफारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको हो ।

राजमार्गमा सफारी सञ्चालन नगर्न बिहीबार नै माइकिङ गरिएको थियो । दैनिक रुपमा सफारीको संख्या बढेका कारण ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको न्यौपानेले बताए । सफारी सञ्चालनलाई व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको उनको भनाइ छ ।

सफारी सञ्चालनका लागि केही निश्चित स्थान तोकिएको छ । ‘नयाँ नियमलाई प्रभावकारी ढंगबाट लागू गरिने छ,’ इन्सपेक्टर न्यौपानेले भने, ‘दर्ता नभएका सफारीलाई नियन्त्रणमा लिएर ‘होल्डिङ सेन्टर’मा राखिने छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.