
विराटनगर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा विस्फोट भएको वस्तु माओवादी द्वन्द्वकालको बम भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फालेलुङ–५ का आइतराज केरुङको घरको आँगनमा बिहीबार दिउँसो ३ बजेतिर विस्फोट भएको थियो । विस्फोटमा परेर घाइते भएकामध्ये २ जना बालबालिकाको मृत्यु भएको छ । मृतक एकै घरका दाजु–बहिनी हुन् । विस्फोटमा ४ जना घाइते भएका थिए ।
बम विस्फोट माओवादी कार्यकर्ताको घरको आँगनमा भएको प्रहरीले जनाएको छ । घरधनी आइतराज माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका बेला ‘होलटाइमर’ कार्यकर्ता थिए । २०६२ सालयता उनको परिवार सदरमुकाम फिदिममा बस्दै आएको छ । फिदिममा उनी व्यापार व्यवसाय गर्छन् ।
आइतराजको खाली रहेको घरमा अहिले ज्ञानबहादुर राईको परिवार बस्दै आएको थियो । त्यसअघि दिलिप साँवाको परिवार बस्थ्यो । ज्ञानबहादुर पनि फिदिममै बस्छन् । उनको परिवार मात्रै गाउँमा आइतराजको घरमा बस्दै आएको छ ।
ज्ञानबहादुरकी श्रीमती बिहीबार दिउँसो घरमा चाबी लगाएर मेला गएकी थिइन् । उनी खेतीको काम गर्न गएपछि घरमा नाबालक छोराछोरी मात्रै थिए । ज्ञानबहादुरका छोराछोरीसँग छिमेकी बालबालिका भेला भएर खेल्दै थिए ।
त्यही क्रममा बालबालिकाले घरनजिकैको अम्लिसो बारीमा खिया लागेको फलामको डल्लो भेटे । त्यही डल्लोलाई उनीहरुले घरमा ल्याए । खोल्ने अनेक प्रयास गरे । तर, सकेनन् । त्यसपछि हम्बरले हानेर फुटाउन खोजे । हम्बरले हान्ने क्रममा ठूलो आवाजसहित विस्फोट भएको स्थानीय बताउँछन् ।
विस्फोटमा परेर सँगै खेलिरहेका ४ जना बालबालिका घाइते भए । घाइतेमध्ये अढाई वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको अवस्था गम्भीर थियो । घटनापछि भेला भएका गाउँलेले घाइते बालबालिकालाई उपचारका लागि लिएर गए ।

प्रिन्साको बाटैमा र दिप्सनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । एकै परिवार दाजु–बहिनी दिप्सन र प्रिन्सा दिलिप साँवाका छोराछोरी हुन् । प्रहरीका अनुसार घाइतेमध्ये १ जना बालकको फिदिममा उपचार भइरहेको छ भने अर्का बालक उपचारपछि घर फर्किएका छन् ।
खेल्ने क्रममा बारीमा फेला परेको वस्तु बालबालिकाले खोल्न खोज्दा घटना भएको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगूले बताए । घटनापछि सोधीखोजी गर्दा बालबालिकाले अम्लिसो बारीमा फेला पारेर ल्याएको पत्ता लागेको उनले बताए ।
अम्लिसो बारीमा खोज्दा अर्को पनि बम फेला परेको जानकारी जबेगूले दिए । उनका अनुसार उक्त बम खिया लागेको अवस्थामा छ । धेरै पुरानो र खिया लागेको अवस्थामा रहेकाले माओवादी द्वन्द्वकालकै हुनसक्ने उनको भनाइ छ ।
‘बम माओवादी द्वन्द्वकालकै हो । बारीमा भेटिएको बम ‘हेनमेड’ हो । तर, विस्फोट भएको कुन हो भनेर खुलेको छैन । घटनास्थल आसपास अरुपनि बम छन् कि भनेर खोजी भइरहेको छ,’ जबेगूले भने ।
पाँचथरका प्रहरी प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बारीमा फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जानकारी दिए । डिस्पोजका क्रममा बम ‘हेनमेड सकेट’ रहेको खुलेको उनको भनाइ छ ।
हिजो विस्फोट भएको पनि ‘हेनमेड सकेट’ नै रहेको हुनसक्ने उनले बताए । ‘डिस्पोज गरेको बम ‘हेनमेड सकेट’ हो । विस्फोट भएको पनि ‘हेनमेड सकेट’ नै हो भन्ने अनुमान छ । तर, कति वर्ष पुरानो हो भन्ने चैं फरेन्सिक जाँच गरेपछि मात्रै प्रष्ट हुन्छ,’ डीएसपी भण्डारीले भने ।
प्रहरी स्रोतका अनुसार माओवादी कार्यकर्ताको घरनजिकै खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालकै हो । ‘त्यति बेला कसैले बारीमा लुकाएर बिर्सिएको हुनसक्छ,’ प्रहरी स्रोतले भन्यो,‘ पहिले(द्वन्द्वकालमा) त्यो माओवादीको चहलपहल हुने एरिया पनि हो ।’
डीएसपी भण्डारीले भने पुरानो र खिया लागेका कारण बम द्वन्द्वकालकै हुनसक्ने बताए । ‘कति वर्ष पुरानो हो भन्ने चाहिँ नेपाली सेनाले फरेन्सिक जाँच गरेपछि मात्रै यकिन हुन्छ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ ।’
























