प्रदेशका बारेमा तथ्यहीन टिप्पणी भइरहेको छ : मुख्यमन्त्री

Share this
720shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २०, बिहीबार १७:५८

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका बारेमा तथ्यहीन टिप्पणी भइरहेको बताएका छन् ।

विराटनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले तथ्य नहेरी प्रदेश संरचनाका बारेमा तथ्यहीन टिप्पणी भइरहेको बताएका हुन् । उनले संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको दाबी गरे ।

संघीयता आएपछि सबै भन्दा बढी विकास निर्माणमा प्रदेश सरकार अगाडि रहेको उनको भनाई छ । पछिल्लो ३० वर्षमा हुन नसकेको काम संघीयता आएपछि भएको दाबी गर्दै उनले भने,‘तर प्रचार प्रसार गर्न नसक्दा हाम्रो (प्रदेशको) बदनाम भएको छ, हामी माथि प्रहार भएको छ ।’

मुख्यमन्त्री कार्कीले ७ वर्षमै संघीयताको विषयमा खारेजीको धारणा बनाउन नहुने बताए । संविधानमा भएका सबै अधिकारहरू प्रदेशलाई प्रत्यायोजन हुन बाँकी बताउँदै उनले संघीयता चाहिन्छ कि चाहिन्न भनेर जाँच्ने बेला नभएको बताए ।

कोशी प्रदेश सरकारको समन्वय एवम्  फेडरलिजम् एण्ड लोकलाईजेसन सेन्टरको आयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक गोपी अछामी, पूर्व सांसद तथा आयोजक संस्थाका कार्यकारी निर्देशक प्रकाश पन्थले संघीयता सबलीकरणमा तीन वटै तहको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए । सेन्टरका अध्यक्ष डा. खिमलाल देवकोटाले सातै प्रदेशका कार्यक्रम सकेर प्रतिवेदन संघीय तथा प्रदेश सरकार र दलका नेताहरूलाई बुझाउने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.