भ्रष्टाचार अन्त्यको सुरुवात राजनीतिबाटै हुनुपर्छ : मुख्यमन्त्री

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार १३:१४

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्यको सुरुवात राजनीतिक क्षेत्रबाटै हुनुपर्ने बताएका छन् ।

विश्वमा नेपाल भ्रष्टाचारले आक्रान्त मुलुक हो भन्ने चित्रण भइरहेको उनको भनाइ छ । भ्रष्टाचारको अन्त्य गर्न राजनीतिक र प्रशासनिक क्षेत्रसँगै सुरक्षालगायतका निकाय प्रतिबद्ध भाएर लाग्न आवश्यक रहेको कार्कीले बताए ।

भ्रष्टाचारविरुद्धको राष्ट्रिय रणनीति तथा कार्ययोजना सम्बन्धमा विराटनगरमा सोमबार आयोजित अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले भ्रष्टाचार अन्त्यको सुरुवात राजनीतिक नेतृत्वबाट हुनुपर्नेमा जोड दिएका हुन् । उनले प्रशासनिक र सुरक्षा क्षेत्र पनि जिम्मेवार ढंगबाट लाग्नुपर्ने बताए ।

भ्रष्टाचार अन्त्यको सुरुवात राजनीतिक क्षेत्रबाट हुनुपर्ने बताउँदै मुख्यमन्त्री कार्कीले राजनीतिक क्षेत्र भ्रष्ट रहेछ भनेर नबुझ्न पनि आग्रह गरे । भने, ‘यसको मतलब यो होइन कि, राजनीति क्षेत्र भ्रष्ट छ भन्ने अर्थ नलागोस् ।’ भ्रष्टाचार रोक्न पुँजीगत बेरुजु कम गर्दैै लैजानुपर्ने, राष्ट्रिय पुँजीको विकासमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको आयोजनामा भएको अन्तरक्रियाका सहभागीले भ्रष्टाचारको असर सबै क्षेत्रमा रहेको भन्दै यो समाजको प्रगतिको दुस्मन भएको बताए । देशलाई भ्रष्टाचारमुक्त बनाउन सबैले शून्य सहनशीलतामा काम गर्नुपर्नेमा उनीहरुको जोड छ ।

कानुन र नीतिको अभावमा भ्रष्टाचार हुने नभएर भएका गतिविधिहरुलाई कारबाहीको दायरामा ल्याएर दण्डित गर्न नीति, कानुन र योजनामा स्पष्टता चाहिने कार्यक्रमका सहभागीले बताएका छन् । कार्यक्रममा कोशी प्रदेशका सांसद, स्थानीय तहका कर्मचारी, प्रदेश सरकारका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.