
विराटनगर । प्राथमिक उपचार दिवसका अवसरमा रोट्रयाक्क क्लब अफ विराटनगर सेन्ट्रलले कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।
विराटनगर महानगरपालिकाको सभाहलमा आयोजित प्राथमिक उपचार कार्यशालाको मेयर नागेश कोइरालाले उद्घाटन गरेका थिए । विराटनगरको आदर्श, सरस्वती र महेन्द्र माविका विद्यार्थीलाई सहभागी गराएर आयोजना गरेको कार्यशालामा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर राजीव श्रेष्ठ, डाक्टर रोशन खड्का, डाक्टर राजन राई र स्वास्थ्यकर्मी गजेन्द्र यादवले विद्यार्थीहरुलाई प्रशिक्षण दिए ।
उनीहरुले पानीमा डुब्दा, सर्पले टोक्दा, आगोले पोल्दा, दुर्घटनामा परी घाइते र हृदयघात हुँदालगायतका अवस्थामा तत्कालै कसरी प्राथमिक उपचार गर्ने भन्ने विषयमा जानकारी दिए ।
प्रमुख वक्ता डा. श्रेष्ठले तत्कालै चिकित्सक उपलब्ध नहुने भएकाले अस्पताल पुग्नुअघि समयमै सही किसिमले प्राथमिक उपचार भयो भने बिरामीको ज्यान जोगिने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले विद्यार्थीलाई प्राथमिक उपचारका विषयमा जानकारी दिँदा प्रभावकारी हुने बताएका थिए । उनले रोट्रयाक्ट क्लबले महत्वपूर्ण कार्य गरेको उल्लेख गरे ।
उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, आयोजक संस्थाका अध्यक्ष कुशल साहलगायतले प्राथमिक उपचारका अभावमा धेरैले ज्यान गुमाउनुपरेको बताए । सबै ठाउँमा तत्कालै डाक्टर उपलब्ध नहुने भएकाले प्राथमिक उपचारले धेरैको ज्यान बचाउन सकिने उनीहरुको भनाइ थियो ।
कार्यशालामा ३ वटा सामुदायिक विद्यालयका साढे ३ सय विद्यार्थीको सहभागिता थियो ।

























