
विराटनगर । मोरङमा पहिलो पटक आयोजना गरिएको ‘कृषि एक्स्पो’को पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ अवलोकन गरेका छन् ।
शनिबार विराटनगर आएका प्रचण्ड नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले विराटनगरसँग जोडिएको कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पो अवलोकन गरेका हुन् । अवलोकनपछि उनले कृषि क्षेत्रको प्रवर्धनबाट नै देशको विकासले गति लिन सक्ने बताए ।
प्रचण्डलाई महासंघ कोशी अध्यक्ष राजेन्द्र राउतसहित पदाधिकारीले स्वागत गरेका थिए । उनले महासंघ प्रतिनिधिहरुसँग छलफल पनि गरे ।
महासंघका अध्यक्ष राउतले कोशी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा भेला पारिएको पूर्वप्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
प्रचण्डले कृषि प्रवर्धनका लागि एक्स्पो आयोजना गर्दा कृषि क्षेत्रको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने बताए ।
कृषिमा आश्रित किसानको जीवनस्तर सुधार गर्न यान्त्रीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको उनले बताए । ‘हामी सरकारमा छँदा कृषि क्षेत्रको समग्र विकासका लागि प्रयास गरेका हौं,’ उनले भने,‘अब पनि प्रयास गरिरहने छौं ।’

























